विकास थापा कास्की नेविसंघको सभापति चयन


पोखरा – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ ।

शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको लामो समयको अवरोध सकिएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् ।

संगठन विस्तार गरी ३ महिनाभित्रै जिल्ला अधिबेशन गर्नुपर्ने जिम्मेवारी सहितको नियुक्ती पत्र शुक्रबार पठाईएको हो । ‘बर्षौंदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिबिधी कमजोर भैरहेको थियो, अध्यक्ष महरले भने–रिक्त पदपुर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् ।

नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेविसंघको कार्यवाहक सभापति भएर काम गरिसकेका छन् । २०६० देखि विद्यार्थी राजनीतिमा सक्रिय थापा २०६७ सालमा नेविसंघ कास्कीको सदस्य बनेका थिए । २०६९ मा कास्की नेविसंघ कोषाध्यक्ष, २०७० क्याम्पस समन्वय समितिको सभापति, २०७१ मा कास्की नेविसंघको उपसभापति हुँदै २०७२ कार्यबाहक सभापति भएर काम गरेका छन् । उनी हाल पोखरा विश्वबिद्यालयमा एमविए अध्ययनरत छन् ।