स्मार्ट लाइसेन्स लिनेले ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने


काठमाण्डौ – नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ।  आजको नेपाल समाचार पत्रमा खबर छ ।

सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा सञ्चालन गर्ने भएको हो। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य अगाडि बढाएको छ।

चालक अनुमतिपत्र लिइसकेपछि जिम्मेवारीबोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष २०७५–०७६ बाट चालकहरूले कक्षा लिनुपर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरू भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिए।

‘चालक जिम्मेवार हुँदा दुर्घटना कम हुन्छ, चालकलाई जिम्मेवार बनाउने र दायित्वबोध गराउन विभागले अब कक्षा नै सञ्चालन गर्ने तयारी गरेको छ’, उनले भने– ‘आधा घण्टादेखि एक घण्टासम्मको कक्षा सञ्चालन गर्दा ट्राफिक नियम, सडकको अवस्था र सवारी दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी गराइन्छ।’

लिखित परीक्षामा धेरै अनुत्तीर्ण भएपछि सरकारले लाइसेन्स लिनका लागि लिखित परीक्षा खुकुलो बनाएको छ। लिखित परीक्षामा २० वटा प्रश्नमध्ये दसवटा प्रश्न मिलाउनासाथ पास हुने गरेका छन्।

विभागले चालकलाई कक्षा सञ्चालन गर्न यस आर्थिक वर्षबाट नै शुरू गर्न खोजे पनि आर्थिक अभावका कारणले अगाडि बढाउन नसकिएको बताइएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरी सवारी सञ्चालन गरेको अवस्थामा चालकहरूलाई जरिवानासहित तीन घण्टा ट्राफिक नियमका बारेमा कक्षा दिँदै आएको छ। तर विभागले भने जिम्मेवार चालक बनाउने उद्देश्यले लाइसेन्स विवतरण गर्नुअघि अनिवार्यरूपमा कक्षा सञ्चालन गर्न लागेको हो।

देशभर रहेको २४ वटा कार्यालयबाट अहिले लाइसेन्स वितरण हुँदै आएको छ। अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएलगत्तै चालक अनुमतिपत्र वितरण गर्ने क्रममा चालकहरूलाई कक्षा सञ्चालन गर्ने विभागका सूचना अधिकारी अर्यालले बताए।

अर्यालले यातायात व्यवस्था विभागका कर्मचारी र ट्राफिक प्रहरीले नयाँ चालक अनुमतिपत्र प्राप्त गर्नेहरूलाई प्रशिक्षण दिने बताए। विभागले एक पटकमा १ सय ५० जनासम्मलाई एकसाथ ट्राफिक नियमका बारेमा कक्षा सञ्चालन गर्ने सकिने बताएको छ।

त्यसैगरी विभागले ट्रायल पास गरेपछि लाइसेन्स प्रिन्ट भएको जानकारी सम्बन्धित चालकलाई एसएमबाट सेवा उपलब्ध गराउने भएको छ।

यातायात कार्यालयमा धाउनुपर्ने, टेलिफोन गर्नुपर्ने झन्झट हटाउँदै विभागले एक महिनाभित्र नयाँ चालक अनुमतिपत्र प्राप्त गर्नेहरूलाई एसएम प्रणालीमार्फत लाइसेन्स प्रिन्ट भएको जानकारी दिने लागेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता मुकुन्द मरासिनीले चालकहरूलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए।

उनले भने– ‘ट्राफिक नियमका बारेमा जानकार भएर पनि नियम उल्लंघन गर्ने प्रवृत्ति बढिरहेको छ, अब हरेक चालकहरूले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्छ।’