सरकार सर्वसत्तावादतर्फ जान खोज्दैछ : नेता पौडेल


चितवन  – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाउनुभएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै उहाँले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रसित पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ ।” नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ, उहाँले भन्नुभयो ।

लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उहाँले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाउनुभयो । सबै शक्ति विकेन्द्रित गर्नु पर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उहाँले बताउनुभयो ।

निर्वाचनको समयमा जनतालाई देखाएका सपनाअनुसार काम गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो ।”

एक फरक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसभित्र न्यायिक, निष्पक्ष र पारदर्शी मूल्याङ्कन नेतृत्वले गर्न नसकेको बताउनुभयो । यी कुरामा ध्यान दिन सकेको खण्डमा पार्टीभित्र कुनै पनि विवाद नआउने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, कमला पन्त र बद्री पाण्डेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको थियो  । निर्वाचनमा व्यहोरेको हार आत्मसात् गर्दै गुटको अन्त्य गरी अघि बढ्नु पर्ने उहाँहरुको भनाइ थियो ।

आइतबारसम्म चल्ने राष्ट्रिय सम्मेलन तथा विधान अधिवेशनले संघलाई संघीय ढाँचामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने संघका केन्द्रीय अध्यक्ष जनक रावलले बताउनुभयो । रासस