अनेसास गण्डकीमा पुस्तक दिवस विशेष कार्यक्रम


पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाएको छ ।

अनेसास गण्डकीले पुस्तक आदानप्रदान, सदस्यता वितरण, बधाई तथा शुभकामना कार्यक्रमका साथ अन्तर्राष्ट्रिय पुस्तक दिवस बनाएको हो । समारोहमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख कृष्णप्रसाद पौडेल, घान्द्रुक स्रोत केन्द्रका स्रोत व्यक्ति तथा साहित्यकार टेकनाथ पीडित, साहित्यकार सूर्य खड्का बिखर्ची, मदन भण्डारी, कल्याण पन्त, विष्णुप्रसाद बास्तोला, निर्मला न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका वक्ताले नेपाली भाषा साहित्यको संरक्षणमा संस्कृतिको विकास हुन नसकेकोमा गुनासो व्यक्त गरे । वक्तले पछिल्लो समय नेपाली भाषामाथि चारैतर्फबाट आक्रमण हुन थालेकाले भाषासाहित्यका पुुस्तक लेखन, प्रकाशन र पठनमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

समारोह बीच संस्थाले साहित्यकार रविन्द्र माकाजुलाई संस्थाको आजीवन सदस्यता प्रदान तथा कार्यसमिति सदस्य प्रविन पुन र संस्थाका शुभेच्छुक दीपक पराजुलीलाई सम्मान गरेको छ । संस्थाका सदस्य पुुन पारिवारिक भेटघाटका लागि बेलायत जान लागेको र पराजुली पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन शुरु गरेकामा सम्मान गरिएको हो ।

आजीवन सदस्यता ग्रहण गर्दै साहित्यकार माकाजुले नेपाली भाषा र साहित्यका लागि क्रियाशील संस्था अनेसासले आफूलाई सदस्यता प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले पुस्तक ज्ञानको भण्डार भएकाले त्यसको निरन्तर अध्ययन आवश्यक रहेको धारणा राखे । सम्मानित व्यक्तित्व प्रविन पुनले आफू बेलायतमा रहे तापनि बेलायत च्याप्टरसँग सहकार्य गरेर अनेसासको गौरव र गरिमालाई उचो बनाउन प्रयत्नशील रहने बताए ।

सम्मानित व्यक्तित्व दीपक पराजुलीले अनेसासका गतिविधिले नेपाली भाषासाहित्यको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सदस्य गीता तिवारी गौतम, कृष्ण रानाभाट सारथि, एनजे सागर शाह, असफल गौतमलगायतले बोलेका थिए ।