विनासकारी भूकम्पको स्मृतीमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना


पोखरा – तीन बर्ष अघि (वैशाख १२ ) नेपालमा गएको विनासकारी भूकम्पको स्मृतीमा आज (बुधबार ) पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दुखद दिनलाई स्मरण गरिएको छ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टर (निप्स) कास्कीको आयोजनामा बुधबार पोखरामा भूकम्पको स्मृतिमा बिमा सचेतनाको लागि प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर वाँस्तोलाले बिमा सम्बन्धि सचेतना आवश्यक भएको बताउदै समयमै जोखिमबाट बच्नको लागि बिमा गर्नुपर्नेमा जोड दिए । सोसाईटि अफ ईन्जिनीयरिङ एशोसियसन कास्कीका अध्यक्ष राजेन्द्र लिगलले बिमा सम्बन्धि जनतामा सचेतना अति आवश्यक भएको बताए । नेपाल इन्जिनीयरिङ एशोसियसन कास्कीका निवर्तमान अध्यक्ष रमेश बाँस्तोलाले भूकम्प आफै घातक नभई मानव निर्मित भौतिक संरचनाले प्रभाव पार्ने बताए ।
पोखराको सभागृहचोकबाट सुरु भएको प्रभात फेरी, न्यूरोड हुदै मानव अधिकारचोकमा पुगेर समापन भएको निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालिखेले बताइन। कार्यक्रममा जिवन तथा निर्जिबन सहितका विभिन्न संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको कार्यक्रम संयोजक बिष्णु पौडेलले बताए । निप्स कास्कीका अध्यक्ष केशवराज ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा गोर्खा भूकम्पको स्मृतिमा आयोजित भूकम्प प्रतिरोधि घर निमार्ण र मापदण्ड बिषयक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । पोखरा लेखनाथ महानगरपालिका प्रमुख प्रसाशकीय अधिकृत दिर्घनारायण पौडेलले महानगरमा हाल घर तथा भवनको नयाँ मापदण्ड ल्याउने तयारी गरेको बताए । उनका अनुसार यस अघि ३५ फिट अर्थात साँढे दुई देखि तीन तलासम्मको अनुमति दिएको भए पनि अब एक सय फिट अर्थात ११ तलासम्मको अनुमति दिन सकिन्छ । पोखरा लेखनाथ महानगरपालिकाका ईन्जिनीयर किसानसिंह गुरुङले भूकम्प सम्बन्धि जानकारी गराउदै नेपाल भूकम्पियको दृष्टिले जोखिममा परेकोले सतरक हुनु पर्नेमा जोड दिए । नेपालको पश्चिम क्षेत्रमा पनि भूकम्पको जोखिम उतिकै रहेकोले भौतिक संरचनाहरु निमार्ण गर्दा प्राविधिकहरुसंगको राम्रोसंग सल्लाहले भौतिक संरचना निमार्ण गर्न उनले सुझाव दिए । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न सदर्भको अवसरमा स्मरण तथा सचेतना जगाउन महासंघले यस्ता कार्यक्रम निरन्तर गर्दै जाने बताए ।