स्पेनबासीका समस्या बारे ध्यान केन्द्रित गराउदै,दूताबासमा ज्ञापनपत्र


बार्सिलोना/ स्पेनबासी नेपालीहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि पहलकदमी चाल्न नेपाली राजदूताबास म्याड्रिडको ध्यान केन्द्रित गरिएको छ। प्रबासी नेपाली मञ्च स्पेनले मंगलबार एक ज्ञापनपत्र बुझाउदै दूताबासको ध्यानआकर्षण गराएको हो।

परिवार पुनर्मिलनको क्रममा भारतको नयाँदिल्ली स्थित स्पेनिस दूताबासमा झन्झट ब्यहोर्नु पर्ने भन्दै समाधानको पहल गर्न अपिल गरिएको छ।

बिज्ञप्तिमा लेखिएको छ,”पटक-पटक दिल्ली धाउनु पर्ने हुँदा धेरै खर्चिलो हुन पुगेको छ। जसको लागि आवश्यक कागजात काठमाडौमा जम्मा गर्न पाउने व्यवस्था गराउन स्पेन सरकारसँग कुटनैतिक रुपमा पहल गर्न तथा नेपालमा पनि स्पेनिस दूताबास स्थापनाको लागि कुटनैतिक कदम चाल्न अनुरोध गर्दछौ।”

नेपाल स्थित स्पेनिस कन्सुलर सेवा प्रभावकारी नभएको भन्दै स्पेनवासी नेपालीहरुको कागज-पत्रमा छाप लगाउन गरिएको लापरवाही तथा ढीलासुस्तिका कारण ठूलो समस्या भोगिरहेको भन्दै ज्ञापनपत्र मार्फत ध्यानकार्षण गराईएको छ। “ नेपालीहरुको बाक्लो बसाई रहेको बार्सिलोनामा दूताबासबाट कम्तिमा वर्षको ४ पटकसम्म घुम्ती टोलीको व्यवस्था गर्न साथै बिलबाउ, भ्यालेन्सिया,मायोर्का,बेनीड्रम लगायत नेपालीहरुको बसाई रहेको शहरहरुमा समेत प्रभावकारी सेबा प्रदान गर्न अनुरोध गर्दछौ।” मञ्चले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पाको संयोजकत्वमा गएको टोलिसँग कुराकानी गर्दै राजदूत भरत बहादुर रायमाझीले स्पेनबासीका समस्या सम्बोधन गर्न दूताबास लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे। मञ्चका पुर्ब अध्यक्षहरु मुक्त बहादुर गुरुङ,दिनेश गुरुङ लगायतको टोलिले म्याड्रिडमा नै पुगेर दूताबासको ध्यानकार्षण गराएको हो।