मुलुकका सबै औद्योगिक कोरिडोर सोमबारदेखि लोडसेडिङमुक्त


काठमाण्डौ – यो वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ ।

मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो ।

यति लामो अवधिमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी अबको एक वर्षमै उत्पादन हुने जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले दिए । ‘निजी क्षेत्रका आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ५ सय मेगावाट पुगिसकेको छ ।

अहिले निजी क्षेत्रले कुल २५ सय मेगावाट उत्पादन क्षमता भएका विद्युत् आयोजनाहरू निर्माण गरिरहेका छन्,’ उनले भने, ‘अब एक वर्षमा निजी क्षेत्र र सरकारी आयोजनाबाट १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादन थपिनेछ ।’ उनका अनुसार एक वर्षमा निजी क्षेत्रको उत्पादन मात्रै १ हजार मेगावाटभन्दा बढी पुग्नेछ । ‘१ सय ७ वर्षमा मुलुकले जति बिजुली उत्पादन गर्न सक्यो, त्यति नै बिजुली अबको एक वर्षमै थपिनेछ,’ गुरागाईंले भने ।

विद्युत् प्राधिकरणले मुलुकका सबै औद्योगिक कोरिडोरलाई सोमबारदेखि लोडसेडिङमुक्त गर्दै छ । तीन घण्टाको हाराहारीमा लोडसेडिङको मार खेपिरहेका उद्योगले अब चौबीसै घण्टा बिजुली पाउने जानकारी प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले दिए ।

प्राधिकरणले २०७३ कात्तिकदेखि राजधानी उपत्यका र त्यसको केही समयपछि देशभरका घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरेको थियो । अधिकारीका अनुसार प्राधिकरणले वीरगन्ज औद्योगिक क्षेत्रलाई परीक्षणका रूपमा १० दिनदेखि लोडसेडिङमुक्त गर्दै आएको थियो । मुलुककै ठूलो औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणले नेपाल–भारतबीचको रक्सौल–परवानीपुरको नयाँ प्रसारण लाइनबाट ८० देखि ८५ मेगावाट र अर्को ३३ केभीए प्रसारण लाइनबाट १० मेगावाट बिजुली आयात गरिरहेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।