प्रदेश नं ४ का दुई वटा विधेयक प्रमाणिकरण


पोखरा – प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका दुई वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् ।

प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधी) विधेयक’ आइतबार प्रमाणिकरण गरेका हुन् ।

प्रदेश सभा प्रदेश नं. ४ पोखराले २०७५ बैशाख २३ गतेको पैंतिसौं बैठकले ‘प्रदेश सरकारको आर्थिकव वर्ष २०७४÷७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको थियो । यस्तै ‘स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधी) विधेयक’ लाई २०७५ बैशाख २४ गतेको छत्तिसौं बैठकले पारित गरेको थियो ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

प्रमाणित गरिएका दुवै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ । ऐन बनेपछि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्न प्रदेश सरकारलाई बाटो खुलेको छ ।

प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।