शनिबार ‘बितेका कुरा’ दुई सो मञ्चन हुने


राजाराम पौडेल,पोखरा – पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ शनिबार दूई सो मञ्चन हुने भएको छ । जस अनुसार पहिलो सो दिउँसो १ बजे र दोस्रो सो साँझ ५ बजे हुनेछ । पोखरामा नाट्य क्षेत्रको आर्कषण बढाउने अभियानका साथ अगाडी बढेको पोखरा थिएटर सञ्चालनमा आएपछि सुन्दर नगरी पोखरामानै नाटकघरमा बसेर नाटकको मज्जा लिन नाट्य पारखीले पाइरहेका छन् । नाटकघरले पनि पोखरा नियमित नाटक मञ्चन गर्दै नाट्य संस्कृतिको विकास गर्न मेहनत गरिरहेको छ । यसैको परिणाम स्वरुप नाटक वितेका कुरा पोखरामा यतिबेला मञ्चन भइरहेको छ ।


रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गरेका हुन्् । कार्कीले यसै नाटकबाट निर्देशनमा डेब्यु गरेका हुन् । नाटकको परिकल्पना समेत उनैले गरेका छन् ।
नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय रहेको छ । एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ ।


हाम्रो समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको यो नाटक सन्देशमुलक समेत छ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत दर्शकले नाटक हेर्न पाउनेछन् ।
नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट लाग्नेछ । यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । नाटकघर सञ्चालनमा आएपछि नेपालका विभिन्न ठाउँका १४ वटा नाटक मञ्चन यहाँ भैसकेका छन् । बितेका कुरा पोखरा थिएटरमा मञ्चन हुने १५ औँ नाटक बनेको छ ।