इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणाली जडान


पोखरा –  नेपाल आयल निगमको गगनगौंडा डिपोका लागि इन्धन भर्ने ट्यांकरहरुमा लकिङ प्रणालीको जडान गरिएको छ । डिपोका लागि भारतका विभिन्न स्थानबाट आयात हुने इन्धनका ट्यांकरमा लक सिस्टम जडान गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अमलेखगन्जबाट इन्धन भरेर भारतिय आयल कर्पोरेशनले लक गरेर गगनगौंडा डिपोका लागि पठाएको ना ६ ख २९७८ नम्बरको ट्यांकरको लक खोलेर उद्घाटन गरेका थिए ।


प्रमुख जिल्ला अधिकारीले विशेष प्रविधीबाट बनाइएको लक प्रणालीले पेट्रोलियम पदार्थको परिमाणमा चुहावट नहुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारीले लक सिस्टमले मिसावट र लस हुने संभावना नरहने उल्लेख गर्दै, यसको कडाईका साथ लागु गर्न इन्धनको गगनगौंडा डिपोलाई आग्रह गरे । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले लक सिस्टमले चालक र पेट्रोलियम व्यवसायीका विचको अविश्वास हट्ने अपेक्षा रहेको बताए । उनले ट्यांकरमा लगाइएको चावीको साँचो एउटा भारतिय आयल कर्पोरेशनसँग र अर्को डिपो प्रमुखसँग हुने भएकाले विचमा बद्मासी नहुने उल्लेख गरे । भट्टराईले देशैभरी लकसिस्टम लागु गरेरै छाड्ने बताए । उनले गगनगौंडा डिपोमा पेट्रोलको तीन लाख ५० हजार लिटरको भण्डारण क्षमतामा बृद्धि गरेर दश लाख लिटर पुर्याउन टेण्डर प्रक्रिया अघि वढाउने बताए । 


नेपाल आयल निगमका आपूर्ति तथा अपरेशन विभागका प्रमुख विरेन्द्र गोइतले लकिङ सिस्टम शिलको सट्टटामा सुधारिएको ताल्चाको प्रयोग भएको बताए । उनले तापक्रम बाहेकका अन्य कुनै पनि परिमाण लस नहुने उल्लेख गर्दै, निगमको अभियानमा सहयोग गर्न आग्रह गरे । गोइतले लक सिस्टमका विरुद्ध आन्दोलन वा ढुवानीका नाउँमा कुनै पनि सिन्डीकेट मान्य नहुने बताए ।


कार्यक्रममा राष्ट्रिय पेट्रोलियम डिर्लस एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्यालले ढुवानी र भारतिय आयल कर्पोरेशनको मापन नमिल्दा पेट्रोलियम व्यवसायी मारमा पर्दै आएको उल्लेख गरे । कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिशयनका अध्यक्ष राजन गोगंजु, ट्यांकरका अध्यक्ष सुरेन्द्ररमण पराजुली, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, ट्याकर चालक खडानन्द पाण्डे लगायतले बोलेका थिए । गगनगौडा डिपोबाट दैनिक एक लाख पचास हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुँदै आएको छ । डिपो अन्र्तगत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ७८ ट्यांकर मध्ये ६० वटामा लक सिस्टम जडान गरिएको छ ।