बेगनासतालमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


पाेखरा – लेखनाथ उद्योग वाणिज्य संघको सप्ताहव्यापी कर प्रशिक्षण कार्यक्रम अन्तर्गत विभिन्न बजार व्यवस्थापन समतिहरुसँगको समन्वयमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको हो । लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा बेगनासताल बजार व्यवस्थापन समितिको सहयोगमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रमको चौथो दिनको कार्यक्रम होटल डे ब्रेक बेगनासतालमा सोमबार सम्पन्न भयो ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा बेगनासतालका व्यवसायीहरुलाई कर शिक्षा प्रशिक्षण कार्यक्रमा सम्पन्न भएको हो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लामिछाने र पूर्व कर अधिकृत रमानाथ पौडेलले कर सम्वन्धी प्रशिक्षण गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, बरिष्ठ उपाध्यक्ष बलराम ढकालले कार्यक्रमको महत्व प्रकाश पार्नुहुदैं सवै व्यवसायीहरुले आफ्नो व्यवसायको राम्रो कर लेखा राख्न अपरिहार्य रहेकोर यसको सहयोगका लागि लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष करलेखा तथा शिक्षा कार्यक्रममा गर्दै आईरहेको बताउनुभएको थियो ।

बेगनासताल बजार व्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संघका महासचिव महासचिव भरतकुमार अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यसमिति सदस्य एवं राजश्व परामर्श समितिका सभापति विक्रम कर्माचार्यले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा बेगनासतालका करिब ६० जना व्यवसायीहरुको उपस्थिति रहेको थियो भने अर्को कार्यक्रम शुशुवा बजारमा शनिवार हुने जानकारी दिनुभएको थियो ।