जर्मनीमा साकेला उभौली मनाईयो


फ्रांकफुर्ट/ जर्मनीको फ्रांकफुर्टमा किराँतराई समुदायको आयोजनामा उभौली पर्व (साकेला) भव्यताका साथ मनाएका छन्। राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा साकेला मनाउँदै आएका हुन्।

गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने आफ्ना पितृहरुको सम्झनामा साकेला मनाउने गर्दछन्। अन्नबाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गरिन्छ।

जर्मनीमा बसोबास गर्ने किराँती राईहरुले फ्रांकफुर्ट स्थित ठुलो खुल्ला पार्कमा नेपालीहरुको ठुलो जमघट गराई किराँती रितीअनुसार पितृपूजा र प्रकृति पूजा गरी उभौली चाड साकेला पर्वको औपचारिक कार्यक्रम शुरुवात गरेको थियो।

स्विट्जरल्याण्ड, बेल्जियम र जर्मनीको बिभिन्न शहरहरुबाट किराँत राई र गैर किराँतहरुको उपस्थिति रहेको साकेला उभौलीमा आ-आफ्नो संस्कृति झल्काउने पोषाकहरु पुरुषहरुले कालो कोट, दौरा-सुरूवाल र नेपाली टोपीमा ठाँटिएर महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर हातमा झ्याम्टा, ढोल र सेउली लिएर निकै रमाईलो गर्दै गोलबन्द भएर साकेला नाचेका थिए।भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने, एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, प्रकृतिलाई सदा खुसी पार्न, अन्नबाली राम्ररी फलोस्, प्राकृतिक विपत्ति नआइपरोस्, पितृ पुज्ने र सम्झनामा र जर्मनीमा जन्मे हुर्केका आउदा पुस्ताहरुलाई आफ्नो संस्कार संस्कृति सिकाउने मुख्य उदेश्यले यो उधौली साकेला कार्यक्रम आयोजना गरेको आयोजक मध्यका एक सदस्य ज्योती राईले बताए।

गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक जिवा लामिछाने, गरै-आवसीय नेपाली संघ जर्मनीका अध्यक्ष बिजय मोक्तान र गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङ लागाएत जर्मनी स्थित संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

किराती संस्कृतिका मिष्ठान्न परिकारहरु खादै र रमाइलो गर्दै किरात राई तथा गैरकिरातहरूले पनि ढोल, झ्याम्टाको तालमा गाउँदै  तथा गोलबन्द भएर नाच्दै निकै मनोरञ्जन गरेका देखिन्थे।उक्त कार्यक्रमलाई सफल र मनोरञ्जात्मक गराउन किराँत राई समुदाय जर्मनीका सदस्यहरु निकै मिहिनेतका साथ लागि परेका थिए।