प्रदेश ४ स्तरिय लोक गायन प्रतियोगीता हुने


राजाराम पौडेल,पोखरा – पोखरामा प्रदेश स्तरिय लोक गायन प्रतियोगीता २०७५ हुने भएको छ । प्रतियोगीता हुनेबारे बुधबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी तथा धौलागिरीको संयुक्त आयोजनामा हुने प्रतियोगीतामा प्रदेश नम्बर ४ का ९ जिल्लाका प्रतियोगीले भाग लिनेछन् । जस अनुसार कास्कीबाट आयुष परियार, उमेश अधिकारी र ऋतु परियार, तनहँुबाट सन्दिप परियार र रेणु रेलामी मगर, लमजुङबाट प्रशान्त तामाङ र जुना परियार, गोरखाबाट पवन परियार र मिरा थापाले सहभागीता जनाउदैछन् । यसैगरी स्याङ्जाबाट नेत्र खड्का, सुमित्रा काफ्ले र नारायण भट्टराई, बाग्लुङबाट रेशम निर्दोष, शान्ति विश्वकर्मा र सिता घिमिरे, म्याग्दीबाट शक्ति छिनाल, मिलन विश्वकर्मा, मिलन कार्की, पर्वतबाट सफल परियार, करिश्मा सापकोटा, नवलपुरबाट अर्जुन सापकोटा र दिक्षा सुनार रहेका छन् ।


प्रतियोगीता जेठ १२ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हल ग्रैहापाटनमा हुनेछ । प्रतियोगिले प्रत्यक्ष बाजामा मौलिक पहिरनमा सजिदै गीत गाउनुपर्ने हुन्छ । प्रदेश स्तरिय प्रतियोगीताबाट छानिएका ५ जनाले आगामी असार १४ र १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितिको आयोजनामा हुने प्रतियोगीतामा सहभागी बन्ने लोक दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष शंकर विरही गुरुङले जानकारी दिए ।

प्रतियोगीताको निर्णायकमा न्यौपानेसँगै प्रदेश संयोजक तारापति सुवेदी, हरिदेवी कोइराला, शान्ति गुरुङ, नवराज बराल रहनेछन् । केन्द्रिय प्रतियोगीतामा प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ बाट छानिएर गएका प्रतियोगीले राष्ट्रिय उपाधिको लागि प्रतिष्पर्धा गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति प्रदेश ४ का संयोजक तारापती सुवेदीले बताए । प्रदेश १ ले भने प्रतियोगीतामा भाग लिएको छैन ।

पोखरामा हुने कार्यक्रममा प्रतियोगीका अलावा स्थापित कलाकारले आफ्नो प्रस्तुती राख्दै माहोल रमणिय बनाउने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले जनाए । प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा, राजन गुरुङ सहित प्रतिष्ठान केन्द्र, अञ्चल र जिल्लामा आवद्ध रहेका स्थापित कलाकारको प्रस्तुतीमा रम्ने अवसर तहाँ हुनेछ । प्रवेश निशुल्क रहेको कार्यक्रममा पुगेर लोक गीतको मज्जा लिने अवसर रहनेछ । लोकगीतको संरक्षण र सम्र्बद्धनमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठान धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटाले बताए । प्रदेश नं. ४ का सामाजिक बिकास मन्त्री नरदेवी पुन मगरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई भव्य बनाउन आफुहरु लागिरहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङले जनाए । नयाँ प्रतिभाको खोजि गर्न यस्ता प्रतियोगीताले मद्दत पुर्‍याउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषाेत्तम न्यौपानेकाे दावी  थियो ।