मेरा लागि अभिनय सबैथोक हो : बबिता


राजाराम पौडेल, पोखरा – पोखरामा मञ्चन भएको नाटक सिरुमारानीमा गरेको अभिनयको कारण बबिता मल्ल ठकुरीको तारिफ गरे । २० वर्षकी युवतीले पाेखरा थिएटरकाे डेब्यु नाटकमा दृष्टिबिहिन उमेर ढल्केको बृद्धाको अभिनय गर्न त्यति सहज थिएन । नाटकलाई उत्कृष्ट बनाउन उनको अभिनयले नयाँ खुराक थपेको थियो । नाटक हेरिसकेपछि सायदै थिए होलान् उनको तारिफ नगर्ने । कारण उनले निर्देशकले दिएको टाक्सलाई कुशलता पूर्वक निभाएकी थिइन् । थिएटर हलमा अभिनय गरेकाे डेब्यु नाटकमा अभिनयसँगै गीत समेत गाउनू पर्ने । तर उनको जोशीलो प्रस्तुती धेरैको मानसपटलमा रहीरह्यो । यतिबेला तिनै बबिता तारा बनेर नाटक बितेका कुरामा देखिएकी छन् । दूई सन्तानकी आमाको क्यारेक्टरमा देखिएकी उनले अभिनय मार्फत कथालाई न्याय गर्दा पुनः दर्शकलाई आफूतर्फ केन्द्रित गर्न सफल बनेकी छन् । प्रेम, रोमान्स, पारिवारिक दायित्व, आइपरेका समस्या अनि एउटा कुशल आमाले आफ्नो छोराछोरीप्रति दर्शाउनु पर्ने माया ममतालाई उनले अभिनयको माध्यमबाट प्रस्तुत गरेकी छन् । उनको अभिनयले एकटकले नाटक हेर्न दर्शकलाई उत्पेरणा दिन्छ । नाटक हेर्न पुग्ने दर्शकलाई हसाँउन, गम्भीर हुन र रुवाउन उनले गरेको अभिनयले बाध्य पार्छ ।


यो अवस्थामा बबिता त्यतिकै आइपुगेकी भने होइनन् । निरन्तर नाटक र अभिनयमा लाग्ने योजना बनाएकी उनको अभिनयको यात्रा कक्षा ३ पढ्ने क्रम बाटनै सुरुवात भएको हो । स्कुलमा हुने अतिरिक्त क्रियाकलापबाटनै यात्रा सुरु भयो । अनि विस्तारै आफुलाई परिपक्क बनाउदै आज उनी सम्भावना बोकेको कलाकार बन्दै उदाउन खोज्दैछन् ।


नाटकमा अभिनय गर्दाको मज्जा बेग्ले हुने उनको अनुभव छ । ‘नाटकमा छुट्टै आनन्द आउँछ, समय गएको पनि पत्तै हुदैन’ उनले भनिन् । नाटकमा डुब्दा अर्कै संसारमा हराएझै उनलाई लाग्छ रे । ‘नाटक अभिनय मेरो सपना मात्र नभएर सबैथोक हो’ उनले थपिन् । स्थायि ठेगाना पोखरा भएकी उनलाई यो क्षेत्रमा अगाडी बढ्न घर परिवारको राम्रो साथ छ । चुलबुले स्वभावकी उनी जो कोहिसँगै सजिलै घुलमिल हुन सक्छिन् । उनी हाल स्नातक अध्ययनरत छन् । नाटक बाहेक चलचित्र, गीत संगीत, खेलकुद, साहित्यतर्फ उनको लगाव उस्तै छ ।


पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा यतिबेला उनी संगै पोखराका नयाँ तथा पुराना रंगकर्मीले अभिनय गरेको नाटक ‘वितेका कुरा’ मञ्चन भइरहेको छ । रुपनारायण सिँहले लेखेको नाटकलाई पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गरेका हुन् । नाटकमा बबिता मल्ल ठकुरी सहित पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय छ । यो टिमले गरेको मेहनतले नाटकलाई परिपक्क बनाउँदै दर्शकको मन जितिरहेको छ ।


नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन भइरहेको छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत दर्शकले नाटक हेर्न पाउनेछन् नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ । यसका अलावा बुकिङ मार्फत थप सो मञ्चन समेत भइरहेको छ ।