स्पेनबासीले राजदूत रायमाझीलाई भने,”दूताबास त आयो,समस्या यथाबत”


बार्सिलोना/ स्पेनमा नेपाली दूताबास स्थापना भए पनि नेपालीहरुले भोग्ने समस्याहरु यथाबत रहेको भन्दै गुनासो पोखेका छन्। दिल्लीमा रहेको स्पेनिस दूताबास तथा काठमाडौ स्थित कन्सुलर सेवा प्रभावकारी नभएको भन्दै राजदूत समक्ष स्पेनबासीहरुले गुनासो पोखेका हुन्। एनआरएनए स्पेनले शुक्रबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत भरतबहादुर रायमाझीलाई सम्बोधन गर्दै समस्या समाधानका लागि पहलकदमी चाल्न उनीहरुले अनुरोध गरे।

ब्यबसायी रमेश निरौलाले दूताबास स्थापना भएकोमा स्वागत गर्दै परिबार पुनर्मिलनका लागि स्पेन स्थित दिल्ली दूताबासले अनाबश्यक झन्झट दिदै आएको बताए। उनले भने,”स्थायी रुपमा बसोबास गर्दै आएका हामीहरुलाई आफ्ना बाबुआमालाई भिजिट भिसामा बोलाउँदा सहज रुपमा भिसा पाईदैन। म यहाँ ब्यापार गरेर बसेको छु,वकिल लगाएर मात्र  तेस्रो पटकमा बाबुआमाले भिसा पाए, अझ सामान्य कामदारका लागि त सहज पक्कै छैन।”

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पुर्ब महासचिव बिष्णु रिजालले काठमाडौमा रहेको स्पेनिस कन्सुलर सेवाले समेत दुख दिईरहेको बताए।”आबश्यक कागजपत्रमा छाप तथा हस्ताक्षरका लागि कन्सुलर सेवाले दुख दिदै आएको छ यसका लागि दूताबासले ध्यान केन्द्रित गर्न जरुरी छ.”रिजालले भने।

अन्तरक्रियामा सहभागीहरुले परिबार पुनर्मिलनका लागि बत्तीसपुतली काठमाडौमा रहेको स्पेनिस कन्सुलेटको कार्यालयबाट प्रक्रिया अगाडि बढे दिल्लीस्थित दूताबास धाइरहनु नपर्ने भन्दै राजदूतको ध्यानआकर्षण समेत गराएका थिए। नेपाल सरकारले चासो राखेर स्पेन सरकारसँग कुटनीतिक पहल गर्न सकेको खण्डमा यो प्रक्रिया सम्भव रहेको समेत उनीहरुले बताए।

म्याड्रिडमा दूताबास स्थापना भएपछि पहिलो पटक बार्सिलोना आएका राजदूत रायमाझीले सबै समस्याहरुको समाधनका लागि सम्बन्धित निकायमा पुग्न आँफू तयार गरेको बताए। उनले भने,” सबैभन्दा ठुलो कुरा तपाईहरुले भन्नुभयो भने मात्र हामीलाई थाहा हुन्छ,भन्नु भएन भने थाहा हुँदैन,अब हामी समाधानका लागि सक्दो पहल गर्छौ।”बैधानिक रुपमा बस्ने र काम गर्ने अधिकार पाईसकेपछि आफ्नो जोडी र नाबालक छोराछोरीलाई पनि आफूसँगै राख्न पाउने अधिकार स्पेन सरकारले दिदै आएको छ। तर यसको लागि कागजी प्रक्रिया पुरा गर्न दिल्ली स्थित स्पेनिस दूताबासमा पटक पटक जानुपर्ने भन्दै सहभागीहरुले दुख पोखे। दिल्लीमा प्रक्रियाका लागि बिचौलियाले मोटो रकम लिने तथा अनुगमनका लागि नेपाल पुग्ने टोलिले समेत रकम लिने र दुख दिने गरेको गुनासो पिडितहरुले पोख्दै आएका छन्।

एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। दूताबासले राहदानी बनाउँन लगायत बिभिन्न कागाजी प्रक्रियाका लागि दुई दिनसम्म बार्सिलोनाबाट नै सेवा प्रदान गरेको थियो।