च्याम्पियन्स लिग फाइनल:-उत्कृष्ट गोल, झुर किपिङ,घाइते खेलाडी


रसिया विश्वकपअघिको ठूलो भिडन्त स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्बल लिभरपुलबीचको खेलमा फुटबलको पूरा मज्जा समर्थकहरुले पाए ।

हार्नेको दुःख र जित्नेको सुखमा हुने फरकबाहेक च्याम्पियन्स लिग फाइनल खेल फुटबल रोमाञ्चकताले भरिएको थियो ।

 

फाइनल खेलमा इष्र्या, भिडन्त, हास्य, चोट, रोदन, खुशी हरेक कुराले फुटबल मन पराउनेहरुलाई जुरुक्क उचालेको थियो ।

एक खेलाडी घाइते, एक उत्कृष्ट गोल र एक झुर किपिङ । समग्रमा यी तीन कुरा हुन् जसले उपाधि भिडन्तमा हार जित तय भयो । यसैबाट रियल मड्रिडले लगातार तीन सिजन र समग्रमा १३ औं च्याम्पियन्स लिग जित्ने कीर्तिमान बनायो । लिभरपुलले छैठौं उपाधि जित्ने सपना तुहायो ।

आइतबार राति रियल मडि्रडका करिम बेन्जेमाले ५१ औं मिनेटमा गोल गरेर खेलमा अग्रता बनाएका थिए । लिभरपुलका किपर लोरिस कारिसले बल पास दिन लाग्दा बेन्जेमाको गोडामा लागेर गोल भएको थियो ।

त्यसको ३ मिनेटपछि नै लिभरपुलका लागि मानेले बराबरी गोल गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका बेलको उत्कृष्ट ‘ब्याक भली’ गोलमार्फत ६४ औं मिनेटमा अग्रता बनाएको मड्रिडले ८३ औं मिनेटमा बेलकै गोलमा ३-१ को जित निकाल्यो ।

मड्रिडको कीर्तिमान

च्याम्पियन्स लिगलाई युरोपियन कप भनिने बेला रियल मड्रिडले लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको थियो । यसैले रियल मड्रिडले दोस्रो पटक लगातार तेस्रो सिजन उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

१६ पटक फाइनलमा पुगेको रियल मड्रिड १३ पटक विजेता बनेको छ । रियल मड्रिडले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो । सन् २०१३/१४ को सिजन रियल मड्रिडले च्याम्पियन्स लिग जितेपछिको एक सिजन बार्सिलोना विजयी भएको थियो ।

सन् १९८०/८१ को सिजनपछि फाइनलमा पुगेर रियल मड्रिड पराजित भएको छैन । त्यो समय च्याम्पियन्स लिगलाई युरोपियन कप भनिन्थ्यो । त्यसबेला लिभरपुलसँगै हारेको रियल मड्रिडले त्यसपछि ७ पटक उपाधि जितिसकेको छ ।

रियल मड्रिडले युरोपियन कप रहेका बेला सन् १९५६ देखि १९६० मा फाइनलमा पुगेर पाँचै पटक उपाधि उचालेको थियो । युरोपियन कपका बेला बेन्फिका, अजाक्स र बायर्न म्युनिख तथा च्याम्पियन्स लिगको समयमा एसी मिलान र युभेन्टस मात्रै लगातार तीन सिजन फाइनलमा पुगेका छन् ।

रियल मड्रिडले पछिल्लो पटक सन् २०१६ मा एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५-३, सन् २०१७ मा युभेन्टसलाई ४-१ र यो सिजन लिभरपुललाई ३-१ ले हराएर उपाधि जितेको हो ।

जिदानको गर्वको क्षण

कीर्तिमानी रियल मड्रिडमा रहँदा आफूलाई गर्व लागेको प्रशिक्षक जिनेदिने जिदानले बताएका छन् ।

युरोपियन क्लब फुटबलकै इतिहासमा रियल मड्रिड सर्वाधिक सफल क्लब बनेको छ । ‘मड्रिडजस्तो प्रसिद्ध क्बलमा रहेर उपाधि जित्न पाउँदा खुसी लागेको छ । मड्रिडले १३ च्याम्पियन्स लिग जितेर बनाएको इतिहासको साक्षी हुन पाउँदा गर्व लागेको छ’ जिदानले भने ।

जिदान प्रशिक्षकको रुपमा आएपछिका हरेक सिजन रियल च्याम्पियन्स लिग विजेता बनेको छ ।

सन् २०१६ मा रियल मड्रिड आएका उनले आफ्नो खेल जीवनजस्तै प्रशिक्षण कला पनि उत्कृष्ट रहेको सावित गरिरहेका छन् । यो सिजन ला लिगामा कमजोर भएर आलोचना खेपिरहेका उनले च्याम्पियन्स लिग जिताएसँगै फेरि एक पटक आफूलाई प्रमाणित गरेका छन् ।

रोनाल्डोको कीर्तिमान

फाइनल खेलमा कमजोर प्रदर्शन गरेका क्रिष्टियानो रोनाल्डोले लिभरपुलसँगको जितसँगै पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने कीर्तिमान पनि बनाएका छन् । उनले पहिलो उपाधि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा हुँदा जितेका थिए ।

यो सिजन १५ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता भए पनि उनको फाइनल खेलको प्रदर्शन आश गरिएजस्तो हुन सकेन । खेलभर उनको गोडामा आएको बल लिभरपुलका डिफेन्डरले खोसिदिएका थिए ।

उत्कृष्ट फिनिसिङका लागि चिनिएका रोनाल्डो फाइनल खेलमा भने अलमलिएका जस्ता देखिन्थे । खेलमा उनले गोल गर्न र गोलको अवसर सिर्जना गर्न पनि सकेनन् । खेलको अन्त्यतिर उनी गोलको नजिक पुगेका भए पनि मैदानमा दर्शक प्रवेश गर्दा त्यो अवसर भाँडिन पुग्यो ।

१२० गोल गरेका उनी च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोलकर्ता पनि हुन् ।

फाइनल खेल जितेपछि प्रतिक्रिया दिँदै उनले छिटै आफ्ना समर्थकका लागि नयाँ खबर दिने बताएका छन् । केही समय आराम गर्ने र विश्वकप खेल्ने पोर्चुगल टिमसँगको भेटपछि नयाँ खबर दिने उनले बताएका हुन् ।

बेलको उत्कृष्ट गोल

रियल मड्रिडका लागि गारेथ बेलले ६४ औं मिनेटमा गरेको उत्कृष्ट गोल नै जितको आधार बन्यो । मार्सेलोको पासमा उनले पछाडिबाट घुमेर हानेको भलीसट फुटबल इतिहासमै निकै उत्कृष्टमध्येको एक रहेको फुटबल पण्डितले बताएका छन् ।

६१ औं मिनेटमा मैदान प्रवेश गरेका उनले त्यसको तीन मिनेटपछि नै लिभरपुलाई कमजोर पारिदिएका थिए ।

उनले ८३ औं मिनेटमा पोस्टको दिशामा हानेको लामो सट पनि लिभरपुलका किपरले ठम्याउन नसक्दा गोल भएको थियो ।

रियल मड्रिडमा बेलको भविष्यलाई लिएर अडकलबाजी भइरहेका बेला उनले आफूलाई प्रमाणित गरेका छन् । सुरुवाती ११ मा नपेर बेन्चमा बसेका उनले जब मौका पाए तब आफ्नो उत्कृष्टता प्रमाणित गरिदिए ।

युरोपियन कपको फाइनलमा दोस्रो हाफमा मैदान प्रवेश गरेर दुई गोल गर्ने बेल एक मात्र खेलाडी हुन् ।

खेलपछि आफ्नो उत्कृष्ट गोलले एउटा सपना पूरा भएको र आगामी दिनमा पनि उत्कृष्ट खेललाई निरन्तरता दिने उनले बताएका छन् ।

घाइते भएका सलाह

फाइनलमा खेलमा लिभरपुललाई २७ औं मिनेटमा नै ठूलो झड्का लाग्यो । पि्रमियर लिगको यो सिजनका सर्वाधिक गोलकर्ता मोहम्मद सलाह घाइते भएर मैदानबाहिर निस्कन बाध्य भए ।

सलाहको चोट गम्भीर रहेको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले बताएका छन् । तर इजिप्टले भने सलाह विश्वकपका लागि फिट हुनेमा ढुक्क रहेको बताएको छ ।

पहिलो हाफमा रियल मड्रिडका कप्तान सर्जिओ रामोससँग ट्याकल हुँदा उनी चोटग्रस्त भएका हुन् । रामोससँग हात अड्किएर तानिएका उनी मैदानमा लडेका थिए । त्यसपछि पनि खेलमा र्फकने प्रयास गरेका उनी कमजोर हुन पुगे र रुँदै बाहिरिए ।

यो सिजन क्लबका लागि ४४ गोल गरेका सलाह नहुँदा खेलको बाँकी समय लिभरपुल कमजोर बन्न पुग्यो ।

सामान्य गल्तीमा पराजय

लिभरपुलका गोलकिपर लोरिस कारिसका लागि फाइनल खेल निकै नै दुःखदायी रहृयो । खेल सकिएपछि लिभरपुलको पेनाल्टी बक्समा एक्लै सुतेर रोइरहेका उनलाई देख्दा पनि उनको पीडाको अनुभव हुन्थ्यो ।

फाइनल खेलको हारमा प्रमुख कारण बन्न पुगे लोरिस । उपाधिको ठूलो भिडन्तमा उनले गरेको सामान्य गल्तीको असर भारी पर्‍यो ।

रियल मड्रिडका करिम बेन्जेमाले ५१ औं मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । जसमा लोरिसले आफ्नो कन्ट्रोलमा रहेको बल पास दिन लाग्दा बेन्जेमाको गोडामा लागेर गोल भएको थियो ।

८३ औं मिनेटमा बेलले हानेको लामो प्रहार पनि लोरिसले ठम्याउन नसक्दा गोल हुन पुग्यो । उनले समान्य प्रहार सोचेर समात्न खोजेको बल घुमेर हातमा छोइँदा जाली चुम्न पुग्यो । पञ्च गर्नुपर्ने बलको तीब्रता उनले ठम्याउन सकेनन् र सामान्य बचाउ गर्न मिल्ने प्रहारमा गोल खान पुगे ।

हौसिएको लिभरपुल

युक्रेनको राजधानी किभको एनसीएस ओलम्पियास्की स्टेडियममा आइतबार राति जे भयो त्यो लिभरपुलका लागि राम्रो भएन । फाइनलको आश सकिएसँगै लिभरपुल गएको तीन वर्षदेखि उपाधिविहीन रहृयो ।

लिभरपुल सन् २००७ पछि पहिलोपटक च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो । लिभरपुलले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको सन् २००४/५ को सिजन हो ।

पछिल्लो १० सिजनमा दुई पटक मात्र इंग्लिस क्लबले च्याम्पियन्स लिग उपाधि जितेका छन् । सन् २००७/८ को सिजन म्यानचेस्टर युनाइटेड र २०११/१२ को सिजन चेल्सीले जितेको थियो ।

पछिल्लो समय च्याम्पियन्स लिगमा इंग्लिस क्लबको कमजोर प्रदर्शन यसपटक लिभरपुलले सुधार्ने आश गरिएको थियो । आश गरिएका सलाह घाइते हुनु र गोलकिपरको कमजोर प्रदर्शनले मात्रै होइन फाइनलमा देखाउनुपर्ने अनुभवको कमीले पनि लिभरपुल हार्न पुग्यो ।

लिभरपुलका लागि आˆनो नियन्त्रणमा रहेको बल गुमाउनु र पास गलत हुनु सामान्यजस्तै देखियो । खेलमा आˆनो लय बनिरहेका बेला पनि बलको नियन्त्रण गुमाउँदा मड्रिड हाबी हुन पुग्यो ।-अनलाईनखबरवाट