बाबा साहित्य साधक सम्मान साहित्यकार पौडेललाई


पोखरा । वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान–२०७४ हेम्जा निवासी साहित्यकार कृष्णप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।

सङ्घर्षमा कलम पोखराद्वारा सञ्चालित तथा बाबाद्वारा स्थापित उक्त पुरस्कारको राशी नगद पाँच हजार पाँच सय ५५, ताम्रपत्र र दोसल्ला रहेको छ ।

अग्रज साहित्यकार तथा पत्रकार कृष्णप्रसाद बास्तोलाको संयोगकत्वमा कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा, संरक्षक असफल गौतम तथा संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथि र सचिव ओमकार लामिछाने पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकले पौडेललाई पुरस्कार दिने निर्णय गरेको हो ।

वि.सं. २०१४ साउन ५ गतेका दिन पोखरा लेखनाथ–२५, हेमजामा बाबु शालिग्राम पौडेल र माता राधिका पौडेलको कोखबाट जन्मेका पौडेल २०३९ सालमा समीक्षा प्रकाशन गरेर तीनदशक बढीसमयदेखि साधनामा छन् । भावनाका गुच्छाहरू छन्दोवद्ध कविताकृति प्रकाशन, दर्जनौं काव्यकृतिको सम्पादन, फुटकर कविता, हाइकु, गजल र समीक्षा प्रकाशन गरेका पौडेल साहित्यिक संगठकसमेत हुन् ।

पौडेल हेमजा साहित्य प्रतिष्ठानमा अध्यक्ष, मुकुन्दवाङ्मय परिषद्मा महासचिव, लेखनाथ साहित्य प्रतिष्ठानमा सचिव, नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा उप–कोषाध्यक्ष, हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषमा सदस्य, रेडियो हेमजा, बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र हेमजा र अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका सल्लाहकारका रूपमा क्रियाशील छन् । नेपाली साहित्यमा स्नातकोत्तर पूरा गरेर प्राध्यापन पेशामा क्रियाशील पौडेल पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभागका विभागीय प्रमुख र गौरीशंकर बहुमुखी क्याम्पसका सहप्राध्यापकसमेत हुन् ।

कला, साहित्य र संगीत क्षेत्रमा क्रियाशील साधकलाई प्रदान गरिने उक्त पुरस्कारबाट यस अघि लमजुङका रुपिन्द्र प्रभावी कुट, गोर्खाका सरस्वती श्रेष्ठ सरु, बाग्लुङका सुमन श्रापित र पोखराका धनबहादुर गायक, पर्वतका शान्तिनारायण श्रेष्ठ सम्मानित भइसकेका छन् ।

साहित्यकार बाबाले आफ्नो टिकटमा एकल कवितावाचनबाट बचेको पैसाले स्थापना गरेको कोषमा हाल एक लाख रूपैयाँ रहेको र उक्त रकमको व्याजबाट वार्षिक रूपमा सङ्घर्षमा कलममार्फत कम्तीमा दुई दशक बढी साहित्यमा साधना गरेका साधकलाई सम्मान गरिदै आएको छ ।