नेपाल ब्रिटेनले एघारौँ वार्षिकोत्सव मनाउँदै


लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी जुलाईमा एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका रूपमा लोकप्रिय रहँदै आएको छ ।
निष्पक्ष र खोजमूलक सूचना सम्प्रेषण गर्नुका अतिरिक्त नेपालब्रिटेनडटकमले विभिन्न समयमा नेपाल र नेपाली समुदायलाई लक्षित गर्दै लोककल्याणकारी र परोपकारी कार्यसमेत गर्दै आएको छ । यसैको शृङ्खलामा थपिने गरी एघारौँ वार्षिकोत्सवको अवसर पारेर नेपालमा बौद्धिक अपाङ्गता अर्थात् सुस्त मनस्थितिका बालबालिकाका निम्ति आवास र शिक्षा तथा तालीम प्रदान गर्दै आएको संस्था हेटौँडाली परिवार  फेमिलिया दी हेटौँडालाई सहयोगार्थ च्यारिटी कार्यक्रम गरिने नेपालब्रिटेन डट कमका सम्पादक नारायण गाउँलेले वताए । यो संस्था हेटौँडामा अवस्थित छ ।
बौद्धिक अपाङ्गता बारे नेपालमा कममात्र बहस हुने गरेको र यसबाट पीड़ित बालबालिकाको सामाजिक, पारिवारिक र शैक्षिक अवस्था दयनीय रहँदै आएको छ । अशिक्षा, चेतनाको अभाव,  गरिबी र पूर्वाधार अभावजस्ता कारणले त्यस्तो समस्या भएका बालबालिकाको उपेक्षामात्र होइन तिरस्कारसमेत हुने गरेको छ ।
स्पेनमा जन्मेर हाल नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा विगत पाँच वर्षदेखि काम गर्दै आएकी आईना बार्काले अनेक सङ्घर्षपछि जन्माएको आशा स्कुलले हाल ३५ जना त्यस्ता विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ ।
यसअघि डेनमार्कमा सम्पन्न एनआरएनए, युरोप क्षेत्रीय बैठकले समेत उक्त संस्थालाई सहयोग गरेको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायत जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशका एनआरएन नेताहरु सहभागि हुने भएका छन् । कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडा, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी रहेको एक उच्चस्तरिय समिति समेत गठन भएको छ ।