रंगकर्मी अनुप बराललाई शिरोमणि पुरस्कार २०७४ प्रदान


राजाराम पौडेल,पोखरा – रंगकर्मी अनुप बराललाई शिरोमणि पुरस्कार २०७४ प्रदान गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले स्थापना गरेको यो पुरस्कार पोखरा ग्रैहापाटनमा रहेको गन्र्धव नाटकघरमा शनिबार एक कार्यक्रमको आयोजना गरि बराललाई अर्पण गरिएको हो । पुरस्कार ग्रहण गर्दै अनुप बरालले पुरस्कारले आफुलाई थप जिम्मेबार बनाएको बताए । कुनै पनि व्यक्तित्वको कुनै न कुनै रुचि हुने भन्दै रंगकर्म तर्फको रुचिका कारण आफु यो क्षेत्रमा अगाडी बढेको उनले बताए । आफ्नो यात्रामा परिवारको सर्पोटले झनै सहजता मिलेको उनको भनाई थियो । पोखराबाट रंगकर्मको यात्रा सुरु गर्दै नेपाली नाटक र चलचित्रको क्षेत्रमा क्रियाशिल बरालले काठमाण्डौमा एक्टर्स स्टुडियो सञ्चालन गरेका छन् । उनी हाल नेपाली चलचित्र तथा नाट्य क्षेत्रमा व्यस्त छन् । बराल मार्फत रंगमञ्च तथा नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका नयाँ प्रतिभाको उत्पादन समेत भइरहेको छ ।


पुरस्कार अर्पण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले अनुपसँग काम गरेका विगतका दिन स्मरण गरे । ‘नाटक निर्देशन गर्न सक्ने क्षमता देखेर मैले पहिलोपटक सहनिर्देशनको जिम्मा दिएको थिए’ श्रेष्ठले भने । निरन्तरको मेहनतका कारण नै उनी नेपाली नाट्य क्षेत्रमा स्थापित भएको श्रेष्ठले बताए ।
कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले अनुपको हालसम्मको यात्राबारे अवगत गराउदै उनले गरेका कार्य, उनको स्वभाव लगायतको बारेमा बेलि विस्तार लगाए । बरालको पोखरेली नाट्य क्षेत्रलाई क्रियाशिल बनाउन मुख्य भुमिका रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनुपको प्रतिभाको तारिफ गरे । बरालको कार्यक्षमताका कारण भविष्य उज्वल देखिएको श्रेष्ठले बताए ।


पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष दिपक समिपको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवाली सचिव अर्जुन अजुर्न अधिकारीले समेत पुरस्कृत व्यत्तित्व अनुप बराल र पोखरेली युवाँ साँस्कृतिक परिवारको बारेमा चर्चा गरे ।
२०३२ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवारले २०४६ सालमा मालति मंगले नाटक मञ्चन गरी संकलन भएको रकमबाट शिरोमणि पुरस्कार स्थापना गरेको थियोे । यसअघि यो पुरस्कारबाट विभिन्न १२ जना व्यत्तित्व पुरस्कृत भैसकेका छन् ।