स्पेनका नयाँ प्रधानमन्त्री पेड्रो सान्चेथद्वारा शपथ ग्रहण


मड्रिड/ स्पेनमा समाजवादी नेता पेड्रो सान्चेथलाई त्यहाँका राजा फेलिपेले प्रधानमन्त्रीको शपथ दिलाएका छन्।अविश्वासको मतपछि पदबाट हटाइएका अनुदारवादी नेता मारिआनो राखोइ पनि सो शपथ ग्रहणमा उपस्थित थिए। शपथ लिने क्रममा समाजवादी नेता सान्चेथले देशको संविधानको रक्षा गर्ने वाचा गरे ।

स्पेनको आधुनिक इतिहासमा पहिलो पटक इसाईहरूको धार्मिक ग्रन्थ बाइबल वा ‘क्रुसीफिक्स’ विना नै उनले शपथ लिए किनकि सान्चेथ नास्तिक हुन्। अब प्रधानमन्त्रीको बाँकी रहेको दुई वर्षको कार्यकालका लागि उनी पदमा रहन पाउनेछन् तर संसद्‍मा उनको दलको एक चौथाइ सिट मात्र छ। आफ्नो मन्त्रिमण्डलमा कसलाई सामेल गराउने भनेर सान्चेथले विचार गरिरहेका छन्। उनका पूर्ववर्ती राखोयलाई भ्रष्टचारको अभियोगमा पदबाट हटाउनका लागि सान्चेथले बास्क तथा क्याटलान राष्ट्रवादीहरूसँगै छ अन्य दलको समर्थन पाएका थिए।

क्याटलोनियामा पृथकतावादी नेता किम टोरा नेतृत्वको नयाँ क्षेत्रीय सरकारमा सहभागी हुने मन्त्रीहरूलाई पनि शपथ दिलाइएको छ। सो समारोहसँगै मड्रिडस्थित केन्द्रीय सरकारको क्याटलान निकायहरूमाथिको नियन्त्रण औपचारिक रूपमै अन्त्य भएको छ। गत वर्ष अक्टोबर महिनामा क्याटलान सरकारले एकपक्षीय रूपमा स्पेनबाट अलग भएको घोषणा गरेपछि मड्रिडले उक्त संवैधानिक व्यवस्था लागू गरेको थियो। अदालतले त्यस्तो घोषणालाई गैरकानुनी भएको फैसला सुनाएको थियो।

टोराले मन्त्रिमण्डलमा सामेल गराउन चाहेका तर पृथकतावादी अभियानमा निर्वाह गरेको भूमिकाका लागि थुना वा स्वनिर्वासनमा रहेका चारजना भूतपूर्व क्याटलान मन्त्रीहरूले पठाएको पत्र उनीहरूका आफन्तहरू पढेर सुनाएका थिए।-बीबीसी नेपाली सेवाबाट