पोखरामा महिला उद्यमी मेला आयोजना हुने


पाेखरा – जेठकाे अन्तिम साता पोखरामा ‘महिला उद्यमी मेला ,२०७५’ आयोजना हुने भएपछि पोखराका आमा समूहहरु उत्साहित भएका छन् । आमा समूहहरुले महिलाहरुले, महिलाकै लागि आयोजना गरेको मेलालाई हरेक कोणबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमितिको आयोजनामा यही जेठ ३० देखि असार २ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा महिला उद्यमी मेला आयोजना हुँदैछ । आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशीलता भन्ने नाराका साथ चार दिने मेला आयोजना हुन लागेको हो ।

‘हामीलाई धेरै मेला र महोत्सवहरुमा बोलाइन्छ ,तर उनीहरुले हाम्रो हितको लागि खासै काम गर्दैनन्’, महिला उद्यमी विकास समितिले मेलाको तयारीको सन्दर्भमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै आमा समूहका अध्यक्षहरुले भने,‘महिला उद्यमी समितिले महिलाहरुलाई नै स्वावलम्बी बनाउने उदेश्यले आयोजित मेलामा भने हाम्रो पूर्ण सहयोग रहनेछ ।’ छलफल कार्यक्रममा बोल्ने आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुले महिला उद्यमशिलता विकासका लागि यस्ता मेला र महोत्सवहरु आयोजना हुनु खुसीको कुरो भएको बताएका थिए ।

छलफल कार्यक्रमलाई सहजिकरण गर्दै महिला उद्यमी विकास उपसमितिका संयोजक सीता बरालले मेलामा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण, महिला उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम तथा महिलाहरुद्धारा उत्पादित सामानहरुको प्रदर्शनी र बिक्री गरिने जानकारी दिनुभयो । मेलाको प्रवेश टिकट निःशुल्क रहेको तथा देशैभरका महिला उद्यमीहरुले मेलामा सहभागिता जनाउने भएकोले उद्यमशीलता बुझ्न र सिक्न चाहनेहरुको लागि समेत मेला फलदायी हुने उहाँको विश्वास रहेको छ ।

मेलामा प्रदेश नम्बर ४ मा रहेका हरेक जिल्लाका महिला उद्यमीहरुबाट २÷२ वटा तथा देशैभरका महिलाहरुको ५० वटाभन्दा बढी स्टल रहने उहाँले जनाउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमिति मेलाको सहयोगी रहेका छन् । पोखरा लेखनाथ महानगरपालिकाले मेलाको विशेष सहयोगी तथा प्रवद्र्धकको रुपमा रहेको छ ।