बिश्वकप हेर्न पाउने रुसका भाग्यमानी नेपालीहरु


बसन्त रानाभाट बार्सिलोना । विश्वकप फुटबलको चर्चा अहिले संसारभर नै चुलिएको बेला नेपाली समर्थकहरु समेत निकै उत्साहित छन् । कतै अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका ठूला समर्थकहरुको भिड छ भने कतै ब्राजिलका युवा स्ट्राइकर नेयमार जुनियरको चर्चा छ ।
यसबीच पोर्चुगलको बिश्वकपमा खासै चर्चा नभएता पनि पाँच पटकसम्म बालोन डि’ओर जितेका क्रिष्टियानो रोनाल्डोका समर्थकहरुले पनि उपाधिको आशै मारेका भने छैनन् ।

३२ राष्ट्र सहभागी विश्व फुटबलको महाकुम्भमा चर्चित खेलाडीहरुका जर्सी संसारका कुनाकाप्चामा पुगिसकेका छन् । यसबाट नेपाल अछुतो रहने कुरो नै भएन । देशभित्र मात्र हैन डायस्फोरामा रहेका नेपालीहरुलाई पनि विश्वकपको ज्वरोले छोइसकेको छ ।

विश्वकप फुटबल रसियामा हुँदै गर्दा त्यहाँ रहेका झन्डै ७ सय नेपालीहरु कत्तिको उत्साहित छन् त ? स्टेडियममा नै पुगेर प्रत्यक्ष फुटबल हेर्नेको संख्या कस्तो छ ? फुटबलको महाकुम्भ सुरु हुनै लाग्दा रसिया कसरी सिंगारिएको छ ? रसियास्थित केही नेपालीहरुसँग विश्वकपबारे गरेको कुराकानीको सारांश प्रस्तुत गरेका छौं ।

सन्जिव शर्मा
स्थायी घर सर्लाही, रसिया बसाई १० वर्ष

विश्वकपका लागि दुईवटा टिकट लिएको छु । पोर्चुगल र मोरोक्को बीचको खेल तथा डेनमार्क र फ्रान्सबीचको खेल हेर्नेछु । वर्ल्डकप उदघाटन र फाइनल खेल हुने लुजनिकी स्टेडियम मस्कोमा खेल हेर्ने अवसरलाई गुमाउने छैन ।

रियल म्याडि्रडको फ्यान हुँदादेखि नै क्रिस्टियानो रोनाल्डो मेरा मन पर्ने खेलाडी हुन् । उनलाई प्रत्यक्ष हेर्न र हौसला प्रदानका लागि पनि पोर्चुगल र मोरोक्को बीचको खेल हेर्ने छु ।

आफूलाई मनपर्ने खेलाडी भएको हुँदा पनि पोर्चुगललाई समर्थन गरेको हुँ । तर फ्रान्स र डेनमार्कको फ्यान नभएता पनि उत्कृष्ट खेल हेर्ने अवसर मिलेको छ । केही महिनाअघि रुस विश्वकपका लक्की ड्रबाट टिकट मिलेको हो । त्यसैले पोर्चुगल भर्सेस मोरक्कोको टिकट मात्र २० डलरमा मिल्यो ।

तर फ्रान्स र डेनमार्क बीचको टिकटका लागि १ सय ५० डलर जति खर्च गर्नुपर्‍यो वर्ल्ड कपका दुई महत्वपूर्ण खेलहरु त्यसमाथि फाइनल खेल खेलाइने लुजनिकी स्टेडियममा हेर्न पाउँदा आफूलाई ठूलो भाग्यमानी ठानेको छु ।

रोनाल्डो रियल म्याडि्रड टिममा बाघ जस्तै भए पनि पोर्चुगलको टिममा भने निरिह जस्तै लाग्छ । तर पनि युरो च्याम्पियन बनिसकेको पोर्चुगलका केही नयाँ युवा खेलाडीहरु भएको हुँदा थोरै आशा भने छ । सेमिफाइनलसम्मको यात्रा गर्‍यो भने पनि ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेनजस्ता टिमका अगाडि पोर्चुगललाई धौ-धौ त छ नै तर खेल हो केही भन्न सकिँदैन ।

रामेश्वर गौतम
अध्यक्ष, एनआरएनए रसिया, स्थायी घरः पर्वत फलेबास

२३ वर्षे रसिया बसाइको क्रममा विश्वकप फुटबलले गर्दा मनमा धेरै नै ठूलो उत्साह जागेको छ । प्रतियोगिता सुरु हुन केही दिन बाँकी रहे पनि १-२ वर्ष अघिबाट नै चहलपहल सुरु भएको हो । दुःखद पक्ष भन्नुपर्दा आफूले चाहेको खेल हेर्न खर्च गर्छु भन्दा पनि टिकट पाइएन ।

विश्वकप नै हो कुनै खेल भए पनि हेरौं न त भनेर बेल्जियम भर्सेस ट्युनिसियाको टिकट लिएका छौं । केहि महिना अघि चिठ्ठा कार्यक्रमबाट केही नेपालीहरुले भने राम्रो अवसर जुराए । मात्र १५-२० डलर तिरेर भाग्यशाली चिठ्ठाबाट टिकट समेत पाए । अझ ति राम्रा र हेर्न लायक रोचक टोलीका टिकटहरु थिए ।

तर मेरो हकमा भने झन्डै १ सय ५० डलरमा बेल्जियम भर्सेस ट्युनिसियाको टिकट लिएको छु । विश्वकपको आनन्द यही खेल हेर्दै लिने सोचमा छु ।

यता उदघाटन खेल भने नेपाली रेष्टुरेन्टमा टिभीमा हेर्ने योजना छ । रसियामा रहेका सबै नेपालीहरुलाई उपस्थितिको आहृवान समेत गरेका छौं ।

गोबिन्द प्रसाद गौतम
युरोप उपसंयोजक, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद

तपाईंले अहिले सम्पर्क गर्दा म रसियाको हेडक्वाटर नजिकै छु । मैले के क्यालकुलेसन गरेँ भने, रसिया बसेको आज ३१ वर्ष पूरा भएर ३२ वर्ष लाग्यो तर आजको जस्तो मस्को अहिलेसम्म देखेको थिइनँ । पूर्णरुपमा सिंगारिएको छ । हामीले कहिल्यै नदेखेको मस्को अहिले विश्वकको बेला देखिरहेका छौं ।

विश्वकप खेल्ने भए नेपालको नै छाति फुलाएर समर्थन गरिन्थ्यो । जन्मथलो पछि कर्मथलो रसियाको नै समर्थन रहने छ । यदि रसिया छिट्टै आउट भइहाले भने मेरो समर्थन साविक विजेता जर्मनीलाई रहने छ । रसियामा ३ दशक बिताएर भएपनि विश्वकपको मज्जा बटुल्ने अवसर मिलेको छ ।

गोबिन्दप्रसाद आचार्य,
स्थायी घरः चितवन पदमपुर, हाल रसिया

रुसमा बस्दै आएको २४ वर्ष पुग्यो । रुसमा नै हुने विश्वकपको प्रत्यक्ष फुटबल हेर्ने अवसर पाउँदा निकै खुशी र उत्साहित छु । हामी यहाँ बस्ने नेपालीहरुमात्र हैन, अमेरिका, अष्ट्रेलिया, युरोपका अन्य मुलुकहरुबाट पनि खेल हेर्न यहाँ नेपालीहरु आउँदै छन् । मेरो सम्पर्क भइरहेको छ । आफूले हेर्न चाहेको खेलको टिकट त पाइएन तर बेल्जियम भर्सेस ट्युनिसिया बीचको खेल हेर्दै छु ।

विश्वकपका लागि मस्को शहर अहिले दुलही जस्तै सिंगारिएको छ । रसिया सरकारले ठूलो खर्च खेलकुदमा लगाएको छ । खेल हुने बिभिन्न शहर तथा स्टेडियम विशेषरुपले सजाइएको छ । मैले हेर्ने स्टेडियम यहाँको दोस्रो ठूलो स्पार्थक स्टेडियम हो । पहिलो पटक जाँदै गर्दा निकै उत्साहित छु ।

कति होलान् प्रत्यक्ष विश्वकप हेर्ने नेपालीहरु ?

हामी रसियामा झन्डै ७ सयको हाराहारीमा नेपालीहरु छौं । बिचौलियाको फन्दामा परेका वा अन्य युरोपेली मुलुकहरु छिर्न भनी लुकेर सम्पर्कमा नआएका झन्डै डेढ-दुई सयको संख्यामा पनि नेपालीहरु रहेको पनि अनुमान छ ।

३०-४० जना नेपालीहरुले प्रत्यक्ष रुपमा स्टेडियम पुगेर विश्वकप हेर्ने अनुमान छ । आ-आफ्नो स्टेटमा नेपालीहरुको छुट्टाछुट्टै समूहहरु छन् । उनीहरु आ-आफ्नो परिवार वा टिम मिलाएर खेल हेर्ने योजनामा देखिन्छन् ।

रसियाका बिभिन्न शहरहरुमा प्रतियोगिता हुने हुँदा आफ्नो नजिक पर्ने स्टेडियमबाट उनीहरुले खेल हेर्नेछन् । फुटबलप्रति अलि बढी लगाव र चासो हुने एउटै ब्यक्तिले ४-५ वटा खेलका टिकटहरु पनि लिएका छन् ।

४० डलरका होटल रुम, ४ सय पुगे

मस्कोका केही नेपालीहरुले टिकट नपाएपछि बाहिर पुगेर पनि फुटबल हेर्ने योजना बनाएका छन् । विश्वकपको अवसरलाई छोप्दै मस्को बाहिर भएपनि उनीहरुले टिकटहरु लिएका हुन् । तर अहिले विशेष समस्या होटलको देखिएको छ ।

पहिले ४०-५० डलरमा पाइने होटलका रुमहरु अहिले महंगिएर ४ सय डलरसम्म पुगेका छन् । अझै समयमा नै बुक नभए, त्यही पनि पाउन मुश्किल छ । तर खर्च गरेर नै भए पनि विश्वकप हेर्ने नेपालीहरुको उत्साह भने मरेको छैन ।

विश्वकप हेर्न नेपालीहरु रसिया आइपुगे


विश्वकपको माहोल यहाँ मात्र होइन नेपालमा झन् व्यापक छ । फुटबल हेर्नका लागि केही नेपालीहरु मस्को आइसकेका छन् । नेपालबाट आउने धेरै जनाले आफन्त, साथीभाइ र एनआरएनका प्रतिनिधिहरुसँग सम्पर्क गरेका छन् ।

नेपालबाट प्रत्यक्ष खेल हेर्न आउनेहरु, खेलको मितिअनुसार नै रसिया आउने बताइरहेका छन् । नेपालबाट विशेषगरी डिस्टिलरी कम्पनीहरुबाट पाइएका उपहार टिकट पाउनेहरु नै आउने क्रम रहेको बुझिएको छ । अन्य केही खेलप्रेमी तथा पत्रकारहरु पनि आउने बुझिएको छ ।

फ्यान आईडी के हो ? कसरी बन्छ ?

अहिलेको विश्वकपमा फुटबल हेर्नको लागि टिकट मात्र भएर हुँदैन । स्टेडियममा छिर्नको लागि फोटो सहितको फ्यान आईडी अनिवार्य छ । टिकट छ तर आइडी छैन भने खेल हेर्नबाट बन्चित हुनु पर्नेछ । विशेष त यो सुरक्षाको दृष्टिकोणबाट निकै उपयोगी र महत्वपूर्ण छ ।

यो आईडी तयार गर्दा पासपोर्टको सम्पूर्ण डिटेलसहित व्यक्तिको पहिचान खुल्ने सबै विवरण बुझाउनु पर्छ । टिकटमा फोटो हुँदैन, तर फोटो सहितको फ्यान आईडी लगाएर खेल हेर्दा, कुनै अपि्रय घटना भइहालेमा पनि व्यक्तिको पहिचान खुल्छ । यो ब्यवस्थाले गर्दा स्टेडियममा अभद्र व्यवहार प्रस्तुत गर्ने दर्शकलाई पनि सजग रहन बाध्य गराउने छ ।

भिसा नचाहिने, गाडी भाडा तिर्न नपर्ने

बाहिर चर्चा गरिएजस्तो यहाँको सुरक्षा व्यवस्था फितलो छैन । प्रविधिको विकाससँगै फुटबल हेर्नको लागि फ्यान कार्डको व्यवस्था रुसबाट नै सुरु भएको छ । सम्भवत यो नयाँ प्रविधि हो । यसअघि कहिल्यै भएको थिएन ।

संसारभरका टिकट किन्ने दर्शकहरुलाई फ्यान आईडी प्रदान गरिएको छ । निःशुल्क प्रदान गरिने फ्यान आइडीले रसियाको भिसाको समेत काम गरेको छ । यो भएपछि भिसा लगाउन जरुरी छैन । साथै खेल हेर्दाको दिन मेट्रो, रेल सेवा अन्य यातायातमा समेत फ्री व्यवस्था गरिएको छ । यसैको माध्यमबाट रुसमा विश्वकपसँगै लाखौ पर्यटकहरु भित्रने अनुमान पनि छ ।