एनआरएनए विज्ञ सम्मेलनको तयारी पूरा


बार्सिलोना/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पुर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्देछ। संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण गर्न लागेको हो।

गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पुर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताईन्छ।  

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ।

संघका प्रवक्ता भूषण घिमिरेले सान फ्रान्सिस्को सम्मेलनको तयारी पूरा भएको भन्दै मंगलबार बिज्ञप्ति जारी गरेका छन्। “विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा २ दिने विज्ञ सम्मेलन आयोजना गर्ने घोषणा हामीले यसअघि नै गरेको सर्वविदितै छ । सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको  सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ ।”

बिज्ञप्तिमा सम्मेलन बारे उल्लेख गर्दै लेखिएको छ ,”विदेशमा आर्जित सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोगी हुनसक्ने प्रचुर सम्भावनालाई सार्थकतामा बदल्न गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन संघले प्रयास थालेको हो।”

“गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।” बिज्ञप्तिमा उल्लेख छ।

विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।

सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा,आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन्।

साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ।