अस्ताए वरिष्ठ न्युरोसर्जन देवकोटा


काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनकोबाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए । गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।