मुगुका नेपाली किशोरीहरुले, स्पेनको ‘डोनास्टिक कप’ खेल्दै


बार्सिलोना । विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला ? चार/चार बर्षमा विश्वकप फुटबल भइरहँदा सधैँ यही कुरा खड्किएको अनुभूति भइरहन्छ ।

 

फुटबलको गर्मागर्मी माहौलमा मुगुको विकट बामा गाउँका किशोरीहरु फुटबल खेल्नकै लागि स्पेन आउने खबरले भने सबैको मन गदगद छ ।

रसिया विश्वकपमा त नेपाल अटेन, तर एउटा फरक विश्वकपको फुटबल महासंग्राममा भिड्न नेपाली चेलीहरु तयार भएका छन् ।

‘डोनास्टिक कप’मा नेपाली किशोरीहरु


विकट जिल्ला मुगुमा जन्मेका किशोरीहरु जोसित फुटबल नै छैन । भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका उनीहरुलाई काठमाडौं देख्नु नै ठूलो सपना थियो । तर, तिनै किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेनमा फुटबल खेल्ने भएका छन् ।

जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियानमा हुने अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा नेपाली किशोरीहरु सहभागी बन्नु आफैमा छक्कलाग्दो र अद्भुत समाचार हो । जहाँ ३३ देशबाट ६३० टिमका ७ सय बढी खेलाडीहरुले सहभागी बन्दैछन् ।

‘टिम रारा’ का १७ किशोरीहरु त्यो भिडमा देखिनु विश्वकपमा नेपाल सहभागिता भए बराबर नै हो भन्दा फरक नपर्ला ।

त्यतिमात्र हैन, उनीहरुले रियल म्याडि्रड र बार्सिलोना जस्ता महारथी क्लवका मैदानमा अभ्यास गर्ने मौकासमेत पाएका छन् । प्लेन, बस, टाँगा, रिक्सा एवं ट्रयाक्टर देख्नसमेत रहर मान्ने यी नेपाली किशोरीहरुले अन्तराष्ट्रिय स्तरको कृत्रिम घाँसे मैदानमा खेल्दाको अनुभव पनि बटुल्नेछन् ।

‘सुनाकली’ डकुमेन्ट्रीको प्रभाव

मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित ‘सुनाकली’ डकुमेन्ट्री अहिले अन्तराष्ट्रिय स्तरमा नै चर्चित छ । पत्रकार भोजराज भाटले निर्देशन गरेको डकुमेन्ट्री युरोपमा मात्र हैन संसारभर बिभिन्न फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । यसले नेपालको डकुमेन्ट्री इतिहासमा नै सबैभन्दा बढी अन्तरराष्ट्रिय अवार्ड जित्ने रेकर्डसमेत बनायो ।

रोप, दक्षिण अमेरिकी मुलक तथा एसियाका बिभिन्न १८६ फिल्म फेस्टिभलमा प्रदर्शन भएको उक्त डकुमेन्ट्रीले २३ वटा अन्तराष्ट्रिय अवार्ड जित्यो ।

यही प्रभावले नै अहिले स्पेनको डोनोष्टी कपसम्मको यात्रा नेपाली चेलीहरुका लागि सम्भव भएको हो ।

त्यसो त डकुमेन्ट्रीकी मुख्य पात्र सुनाकली बुढा गत बर्ष स्पेनसमेत आइन् । ‘हाम्री सुनाकली कस्ती ! मेस्सी जस्ती’ भनेर चर्चा पाएकी उनले फुटबलका लागि सपनाको देश मानिने स्पेन आएर चर्चित फुटबलरहरुसँग भेट गरिन्। ‘थिङ्कङि फुटबल फिल्म फेस्टिवल’ र एथलेटिक क्लब बिल्वाओको निमन्त्रणामा निर्देशक भाट र सुनाकली बुढा स्पेन आएका थिए ।

फिल्म फेस्टिवलको एक भव्य समारोहबीच दुबै सम्मानित भए । सुनाकलीको अन्तराष्ट्रिय स्तरमा झनै उचाइ बढ्यो । स्पेन बिल्बाओको एक लोकपि्रय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेजसमेत प्रकाशित गर्‍यो । उनले एथ्लेटिक क्लब बिल्वाओको महिला टिमसँगै फुटबल पनि खेलिन् ।

विश्व प्रसिद्ध ला लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उनलाई आmनो जर्सी उपहार दिए । मुगुमा मोजाका डल्लाहरुसँग फुटबल खेलेकी सुनाकलीले विश्व प्रसिद्ध फुटबल क्लवको कृत्रिम घाँसे मैदानमा खेल्ने अवसर समेत पाइन्।

सुनाकली अहिले काठमाडौँको लिटिल एञ्जलसमा १२ कक्षामा अध्ययनरत छिन् । एउटा विपन्न परिवारमा जन्मिएकी सुनाकलीलाई डकुमेन्ट्रीकै कारण यति ठूलो अवसर मिल्यो । अन्य दुई खेलाडी पनि अहिले काठमाडौँको स्कूलमा अध्ययन गरिहेका छन् ।

टिम राराका १७ किशोरीहरुलाई अवसर


सुनाकली डकुमेन्ट्रीकै नेपालको समाजिक जीवनमा नै ठूलो प्रभाव ल्यायो। घर बाहिर निस्कन नपाउने किशोरीहरुलाई फुटबल खेल्नैका लागि अविभावकहरुले बिदाइ गरे । अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा सहभागिताका लागि ठूलो अवसर जुट्यो ।

टिम रारालाई आवत जावत टिकटसहित, होटल व्यवस्थापनदेखिको लाखौं खर्च व्यहोर्दै स्पेनबाट आयोजकले निमन्त्रणा गरेको छ । १७ जना किशोरी र ५ जना व्यवस्थापकसहित २३ जनाको टोली सहभागी बन्नेछ ।

टिम संयोजक भोजराज भाटका अनुसार मुगुमा नै पुगेर छनोट अभ्यास मार्फत १७ जना किशोरीहरुको टिम तयार भएको हो । रारादेखि काठमाडौंसम्मको यात्रा नै चुनौती र कठिनाइ पूर्ण थियो । दिल्लीस्थित स्पेन दूताबासको भिसा प्रक्रियासम्म पुग्न धेरै कठिनाइहरु आए । अन्ततः रारा टिमले स्पेन आउने भिसा प्राप्त गरिसकेको छ ।

साथमा उनीहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्याससमेत गरेका छन्। डोनोष्टि कपमा १० वर्षदेखि १८ बर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ । पुरुषतर्फ बि-१० देखि बि-१८ सम्म झन्डै ३५० वटा टोली छन् । महिलातर्फ भने जी-१२, जी-१४, जी-१६ र जी-१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

टिम रारा रहेको जी-१४ मा -१४ बर्ष उमेर समूह) ९ वटा समूहमा ३६ टिमहरु सहभागी छन् । समूह जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याडि्रड सीएफएफबीसँग खेल्ने छ । समूह चरण पार भएमा जुलाई ५ र ६ तारेख नकआउट चरणमा पनि प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल, अर्जेन्टिनाभन्दा बलियो रारा टीम !

विकट जिल्लाहरुमा हैन, शिक्षित समाजमा पनि महिलालाई हेर्ने दृष्टिकोण नेपाली समाजमा अझै पनि संकुचित छ । यसैले पनि क्षमतावान महिलाहरु अवसरहरुबाट बञ्चित छन् । हिमाली विकट जिल्लादेखि स्पेनसम्मको यात्रा गर्दै मुगुका किशोरीहरुले नेपालको संकुचित समाजलाई गतिलो झापड दिएका छन् ।

भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका उनीहरु अवसर पाएको खण्डमा अन्तराष्ट्रिय स्तरको कृत्रिम घाँसे मैदानमा खेल्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

नेपाली चेलीले प्रतियोगिता जितुन् वा हारुन्, यो सवाल हैन । तर, नेपाली किशोरीहरुको आँट र क्षमतालाई संसारको कुनै पनि टिमसँग तुलना गर्न मिल्दैन । आँट, विश्वास र क्षमताका आधारमा, जारी विश्वकपका ब्राजिल, अर्जेन्टिना, जर्मनी वा स्पेनभन्दा बलियो मान्न सकिन्छ ‘टिम रारा’लाई । बधाइ छ नेपाली चेलीहरुलाई !