डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो


पोखरा –  एसियाली मुलुक दक्षिण कोरियाले ऐतिहासिक जित निकाल्दा साविक विजेता समेत रहेको डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो ।

अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।

सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो ।  हारका बाबजुद मेक्सिको भने उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो ।