पाँच पटकको विजेता ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश


पोखरा – समुह बिजेता बन्दै पाँच पटकको विजेता ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा सर्बियालाई २–० गोलअन्तरले पारजित गर्दै ब्राजिल अन्तिम १६ मा पुगेको हो । जितसँगै ब्राजिल ७ अंक सहित समुह ई को शिर्ष स्थानमा पुगेको हो ।

खेलको पहिलो हाफमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको ३६ औँ मिनेटमा काउन्टिन्होको पासमा पाउलिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा सर्बियाले सुधारिएको खेल प्रदर्शन गरे पनि ब्राजिलको पोष्टमा प्रत्यक्ष आक्रमण भने गर्न सकेन । बराबरी गोलका लागि सर्बियाले प्रयास गरिरहँदा नेयमारको कर्नरमा थियागो सिल्भाले हेडमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

योसँगै सर्बियाको नकआउट चरण पुग्ने सपना चकनाचुर बन्यो । अब ब्राजिलले नकआउट चरणमा मेक्सिकोको सामना गर्नेछ । बुधवार रातीनै भएको अर्को खेलमा कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै स्वीटजरल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरेको छ । स्वीटजरल्याण्डले अब स्वीडेनको सामना गर्नेछ ।  स्वीटजरल्याण्ड ५ अंकका साथ उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।