मुगुका किशोरीहरु शुक्रबार साँझ बार्सिलोना आउँदै


बार्सिलोना । जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियानमा हुने अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा सहभागी बन्न नेपाली किशोरीहरु शुक्रबार स्पेन आउँने भएका छन्। टीम राराका १७ किशोरीहरु सहित २३ जनाको टोलि साँझ ५:३० बजे बार्सिलोना उत्रने भएको हो। खेलाडीहरुलाई बिमानस्थलमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन लगायत संघ संस्था तथा नेपाली समुदायले स्वागत गर्ने भएका छन्।

डोनोष्टि कपमा १० वर्षदेखि १८ बर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ । पुरुषतर्फ बि-१० देखि बि-१८ सम्म झन्डै ३५० वटा टोली छन् । महिलातर्फ भने जी-१२, जी-१४, जी-१६ र जी-१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

टिम रारा रहेको जी-१४ मा -१४ बर्ष उमेर समूह) ९ वटा समूहमा ३६ टिमहरु सहभागी छन् । समूह जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याडि्रड सीएफएफबीसँग खेल्ने छ । समूह चरण पार भएमा जुलाई ५ र ६ तारेख नकआउट चरणमा पनि प्रतिस्पर्धा गर्नेछ ।

विकट जिल्ला मुगुमा जन्मेका किशोरीहरु जोसित फुटबल नै छैन । भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका उनीहरुलाई काठमाडौं देख्नु नै ठूलो सपना थियो । तर, तिनै किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेनमा आएर फुटबल खेल्ने भएका छन् ।

यसैबीच गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले खेलाडीहरुलाई सम्मान कार्यक्रमको समेत आयोजना गरेको छ। शनिबार दिउँसो ४:३० बजे संघको कार्यालयमा खेलाडीहरुलाई सम्मान गरिने संघका अध्यक्ष चिन्तामणि सापकोटाले जानकारी दिए।

उनले भने,” मुगुका किशोरीहरुलाई स्वागत सहित सम्मान गर्न पाउनु स्पेनबासि नेपालीहरुलाई खुशीको कुरा हो। अर्को तर्फ स्कोलर होम एकेडेमीबाट पनि प्रतियोगितामा सहभागिताका लागि खेलाडीहरु आउने जानकारी भर्खर प्राप्त गरेका छौ,सम्भव भएसम्म सबै खेलाडीहरुलाई एकैसाथ राखेर सम्मान गर्ने छौ।”