मुगुका किशोरीहरु स्पेन आईपुगे


बार्सिलोना। विकट जिल्ला मुगुमा जन्मेका किशोरीहरु अन्तत: फुटबल खेल्नकै लागि स्पेन आईपुगेका छन्। मुगुका भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका किशोरीहरु अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी बन्न शुक्रबार साँझ बार्सिलोना आईपुगेका हुन्।

उनीहरुलाई काठमाडौ देख्नु नै ठुलो सपना थियो तर तिनै किशोरीहरु बिश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेनमा आएर फुटबल खेल्दैछन्। जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियान हुने ‘डोनोष्टि कपमा नेपाली किशोरीहरु सहभागीता जनाउने भएका हुन्। जहाँ ३३ देशबाट ६ सय ३० टीमको भिडमा टीम राराका १७ किशोरीहरु पनि प्रतिस्पर्धामा उत्रने छन्।

प्रतियोगिताको उद्घाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको टिमका डाईरेक्टर भोजराज भाटले जानकारी दिए। उनले निर्देशन गरेको डकुमेन्ट्री सुनाकलीको प्रभावका कारणले नै किशोरीहरुलाई स्पेन निमन्त्रणा गरिएको हो।“सुनाकलीले २३ वटा अन्तराष्ट्रिय अवार्ड जित्यो,एकप्रकारले हामीलाई त्यो सफलता असम्भव जस्तो थियो,तर दुनियाँमा असम्भव केहि पनि रहेनछ,मुगुबाट चेलीहरु फुटबलको देश स्पेनसम्म आईपुगेका छन्, नेपाल र नेपालीहरुको नाम जोड्न पाउँदा गर्व लागेको छ.” उनले भने।

डोनोष्टि कपमा १० बर्ष देखि १८ बर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ। पुरुष तर्फ बि-१० देखि बि-१८ सम्म झन्डै ३५० टोलिहरु रहेका छन्। महिला तर्फ भने जी-१२,जी -१४,जी-१६ र जि -१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

टीम रारा रहेको जी -१४ मा (१४ बर्ष उमेर समूह) ९ बटा ग्रुपमा ३६ टिमहरु सहभागी छन्। ग्रुप जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याड्रिड सीएफएफबीसँग खेल्ने छ। समुह चरण पार भएमा जुलाई ५ र ६ तारिख नकआउटचरणमा पनि प्रतिस्पर्धा गर्नेछ। ‘डोनोष्टि कपमा मुगुका किशोरीहरु टीमसँगै अर्को नेपाली टीम पनि सहभागि रहेको छ। काठमाडौ गंगभुस्थित स्कोलर्स एकेडेमीका छात्रहरु पनि बार्सिलोना आइपुगेका छन्। उनीहरु १३ बर्ष उमेर समूहबाट प्रतिस्पर्धा गर्नेछन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले खेलाडीहरुलाई बिमानस्थलमा स्वागत गर्यो। संघका अध्यक्ष चिन्तामणि सापकोटा,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शितल भुर्तेल भुसाल लगायत संघ संस्थाका प्रतिनिधिहरुले बिमानस्थल पुगेर स्वागत गरेका थिए।