मुगुकीका मेस्सीहरुलाई एनआरएनको सम्मान


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले मुगुका किशोरीहरुलाई सम्मान गरेको छ। स्पेनको डोनाष्टि कप खेल्न आएका टीम राराका खेलाडीहरुलाई संघले शनिबार एक कार्यक्रमबिच सम्मान गरेको हो।

सोहि अबसरमा मुगुकी किशोरी रोशनी कामीले आपनो अनुभव सुनाइन्। “बलले लागे नाकबाट रगत आउँछ, चोट लाग्छ भन्ने चिन्ताले नजिकै जान डर लाग्थ्यो । तर, पनि बिस्तारै दाजुहरुसँग सिकेँ । फुटबल खेल्न कहाँ जाँदैछन् भन्ने रेडियोबाट सुन्यौं । अलिअलि मात्रै फुटबल जानेकी थिएँ । तर, अभ्यासमा मैले धेरै नै मिहेनत गरेँ ।”

छनोटमा परेर स्पेन जाने भए पछि उनका लागि कम चुनौतीपूर्ण थिएन। भाबुक हुँदै सुनाईन् ,”घरमा ममीबाबाले मान्नु भएन । केटी मान्छे, त्यही पनि अर्काको देशमा कतै बेचिदिन्छन् कि भनेर डराउनुहुन्थ्यो ।स्पेन जस्तो ठाउँमा हाम्रा बाउबाजे त गएका थिएनन् । हामी केटी मान्छे, पहिलोपटक जाने अवसर पाएका छौं भन्दै घरमा सम्झाएँ । मैले अति नै जिद्दी गरेपछि मात्रै घरबाट निस्कन पाएकी हुँ ।”

मुगुका किशोरीहरुलाई फुटबल खेल्नकै लागि विदेश ल्याउन कम चुनौतीपूर्ण थिएन ।अभिभावकहरुलाई विश्वास दिलाउन नै निकै कठिन थियो । त्यसैले पनि सम्पूर्ण अभिभावकको नेतृत्व गर्दै मुगुबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गोपाल बम आफै स्पेन आएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले मुगुका किशोरीहरु पनि युरोप पुगेर प्रतिस्पर्धामा गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेको बताए। त्यतिमात्र हैन, अन्य महिलाहरुलाई हौसला र उत्प्रेरणा मिल्ने बिश्वाससमेत सांसद बमले लिएका छन् । उनीे अगाडि भन्छन्- ‘फुटबलका माध्यमबाट विकट जिल्लामा छोरी मान्छेहरुवीच गरिने भेदभाव घटाउनु पनि हाम्रो मुख्य अभियान हो । बालबिबाह हुने र छिट्टै आमा बन्न बाध्य हुने परिस्थितिलाई रोक्न हामीले कदम उठाउनैपर्छ।’

यसअघि सुनाकली बृत्तचित्र बनाएर अन्तराष्ट्रियस्तरमा नै चर्चा बटुलेका पत्रकार  भोजराज भाटले मुगुका किशोरीहरुलाई झन्डै करोड रुपैयाँ खर्च गरेर डोनाष्टि कपको आयोजकले स्पेन निमन्त्रणा गरेको सुनाए । टीम संयोजक समेत रहेका भाटले भने, ‘फुटबलको विश्व राजधानी शहरजस्तै लाग्ने बार्सिलोनामा मुगुका चेलीहरुलाई ल्याउँदा एउटा सपनाजस्तै लागिरहेको छ । फिफाले सुनाकलीलाई हिमालयन मेस्सी भनेको थियो । यी पनि १७ जना पनि मिनी मेस्सीहरु नै हुन् ।’

कार्यक्रममा खेलकुद बिकास समिति मुगुका अध्यक्ष कृष्ण सेजुवाल,टीम म्यानेजर प्रकाश शाही,प्रशिक्षक भगबती रानामगरको समेत उपस्थिति रहेको थियो। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु मुक्त बहादुर गुरुङ र शितलभुर्तेल भुसालले टीम रारालाई खादा लगाई सम्मान ब्यक्त गरेका थिए।

संघका अध्यक्ष चिन्तामणि सापकोटाले मुगुका किशोरीहरुलाई स्पेनको नेपाली समुदायमाँझ स्वागत गर्न पाउँदा खुशी ब्यक्त गरे। उनले भने,”विकट ठाउँ देखि किशोरीहरुको यहाँसम्म यात्रा संघर्षपूर्ण देखिन्छ,एनआरएन जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको छ।”

विभिन्न उमेर समूहका किशोर-किशोरीले भाग लिने डोनाष्टि कपको उदघाटन एक भब्य समारोहवीच सोमबार साँझ सम्पन्न भएको छ । ३३ राष्ट्रका ६ सय २३ टिमहरु सहभागी हुँदा नेपालका तर्फबाट पहिलोपटक दुई टिमहरुले भाग लिए । मुगुका किशोरीहरुको टीम रारासहित काठमाडौको स्कोलर होम एकेडेमीका छात्रहरु पनि सहभागी भए ।१३ बर्ष उमेर समूहका किशोरहरु बीचको फुटबल प्रतियोगतामा स्कोलर होम एकेडेमीले प्रतिस्पर्धा गरेको छ। कुल ९ हजार ५ सय खेलाडीहरुले भाग लिएको प्रतियोगिताको उदाटन समारोहमा राष्ट्रिय झन्डा फरफराउँदै नेपाली खेलाडीहरुले मार्चपास गरे । ५२ जना नेपालीहरुको जम्बो टोली समारोहमा सहभागी बन्यो ।

जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियानमा प्रतियोगिता जारी रहनेछ ।