मुगु देखि स्पेन आएकी किशोरी रोशनी कामीको अनुभव (भिडियो सहित)


बार्सिलोना । ‘हामीलाई फुटबलका बारेमा केही पनि थाहा थिएन । जसरी हामी यो ठाउँमा आएका छौं, यो त कल्पनासमेत गरेका थिएनौं । यस्तो ठाउँमा आउँला भनेर न कहिल्यै सोचेका थियौं ।’ रारा टिमसँगै स्पे आइपुगेकी मुगुकी किशोरी रोशनी कामीले आफ्नो अनुभव सुनाइन्- पहिले पहिले दाजुहरु फुटबल खेल्दाखेरि भन्नुहुन्थ्यो, तिमीहरु केटी हौ, फुटबल खेल्नै जान्दैनौ जोडले हान्यो भने पनि ढल्छौं ।

एनआरएनए स्पेनले आयोजना गरेको सम्मान कार्यक्रममा रोशनीले मुगुदेखि स्पेनसम्मको यात्राबारे आफ्नो अनुभन यसरी सुनाइन्-

बल देखेपछि मलाई डर लाग्थ्यो । टाढाबाट कसैले पावरले हान्छ कि भनेर पहिल्यै डराउँथे । बलले लागे नाकबाट रगत आउँछ, चोट लाग्छ भन्ने चिन्ताले नजिकै जान डर लाग्थ्यो । तर, पनि बिस्तारै दाजुहरुसँग सिकेँ । फुटबल खेल्न कहाँ जाँदैछन् भन्ने रेडियोबाट सुन्यौं । अलिअलि मात्रै फुटबल जानेकी थिएँ । तर, अभ्यासमा मैले धेरै नै मिहेनत गरेँ ।

छनोटमा परेपछि त एकदमै खुशी लाग्यो । तर, घरमा ममीबाबाले मान्नु भएन । केटी मान्छे, त्यही पनि अर्काको देशमा कतै बेचिदिन्छन् कि भनेर डराउनुहुन्थ्यो ।

स्पेन जस्तो ठाउँमा हाम्रा बाउबाजे त गएका थिएनन् । हामी केटी मान्छे, पहिलोपटक जाने अवसर पाएका छौं भन्दै घरमा सम्झाएँ । मैले अति नै जिद्दी गरेपछि मात्रै घरबाट निस्कन पाएकी हुँ ।

विदेशका लागि त हिड्यौं तर मनमा डर पनि थियो । पहिलो पटक प्लेन चढ्दा अचम्म लाग्यो । एकदमै डर लाग्यो । एकछिन त खुशी पनि लाग्यो । तर, झरी पो हाल्छ कि भनेर डर पनि  ! कतै पहाडमा नै गएर ठोक्काउँछ जस्तो पनि । प्लेनमा एकदमै कान दुख्यो ।

हामी नेपालगञ्ज पुग्यौं । धेरै नै गर्मी थियो । त्यहाँबाट काठमाडौ आयौं। काठमाडौभित्र छिर्दा आफूलाई भाग्यशाली ठानें ।

यहाँ त आइयो । अब स्पेन कस्तो होला ? मनमा कस्तो कस्तो हुन्थ्यो । एकचोटि त मलाई विश्वासै लागेन । स्पेन जाने होइन कि जस्तो पनि लाग्थ्यो । कतै उतै पो राख्ने हुन् कि भन्ने मनमा ठूलो डर पनि थियो ।

तर, आज मलाई स्पेनमा ठूला-ठूला घरहरु देख्दा, अझ मेस्सीजस्तो मान्छेले फुटबल खेल्ने ग्राउण्डमा पुग्दा, अनि यहाँ आएर खेल्न पाउँदा धेरै नै खुशी लागेको छ ।

कहिल्यै शहर पुग्ने सपनासम्म नदेखेकी रोशनी कामीको जस्तै अनुभव अन्य किशोरीहरुको पनि छ ।

यो पनि पढ्नुहोस् :-

फुटबल:-मुगुका मेस्सीहरुको स्पेन अनुभव