थाई गुफामा फसेका १३ जनाकै सकुशल उद्दार


उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ।  थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ।

आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो। एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए।  पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो।

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो। तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो। आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए।

बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै एक अधिकारीले बताए।  गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो। त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन। यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो। हजारौँ व्यक्तिहरूले समग्र उद्धार अभियानमा स्वयम्सेवा गरेका थिए।

यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ।  उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स-रे एवम् रक्तपरीक्षण गरिएको छ। उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ। अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए।

तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो। तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ।  “आठै जनाको स्वास्थ्य राम्रो छ। ज्वरो पनि छैन।…सबै मानसिक रूपमा पनि ठिक छन्,” स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए।  स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ।

केही बालकहरूले आफ्ना अभिभावकहरूलाई परबाट हेर्न पाएका छन्। तर उनीहरूलाई सोझै भेट गर्न भने दिइएको छैन। केही दिनमै थप परीक्षणका परिणामहरू प्राप्त हुनेछन् र बालकहरूलाई सङ्क्रमण नभएको प्रमाणित भए उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ। तर थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओचाले भने बालकहरूलाई भेटेका छन् भनी बीबीसी नेपाली सेवाले समाचारमा उल्लेख गरेको छ।