परिपक्क बन्दै जसु, चलचित्र ‘म्ले क्यु’को लागि कभर डान्स प्रतियोगीताको आह्वान


राजाराम पौडेल,पोखरा – स्टार्स स्टुडियो प्रालिको प्रस्तुतीमा जसमाया गुरुङ जसुद्धारा निर्देशित गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात बिर्साउने पानीको यतिबेला सम्पादन भइरहेको छ । चलचित्र कर्म क्याँ (कर्मको बाटो) बाट चलचत्रि निर्देशनमा डेब्यु गरेकी उनले निर्देशन गरेको यो दोस्रो चलचित्र हो । म्युजिक भिडियो तथा गुरुङ चलचित्रमा विभिन्न जिम्मेवारी पुरा गर्दै अगाडी बढेकी जसु यो क्षेत्रमा परिपक्क बन्दै गएकी छन् । उनको परिपक्कताको पुष्टी उनले निर्देशन गरेको पहिलो चलचित्र कर्म क्या बाट भएको थियो । जुन चलचित्रले दर्शकको साथ मात्र पाएन पुरस्कार समेत जित्न सफल भयो । पहिलो चलचित्रबाट बनाएको छवीलाई कायम राख्न यो चलचित्रमा उनले निकै मेहनत गरेकी छन् । ‘ऐतीहासिक कथामा बनेको चलचित्र भएको कारण समेत यसमा सक्दो मेहनत गरेकी छु’ उनले भनिन् । यतिबेला सम्पादन भइरहेको ‘म्ले क्यु’ गुरुङको ऐतिहासिकतासँग जोडिएको छ । चलचित्र मार्फत गुरुङ जातीको मृत संस्कारलाई देखाइएको उनले जनाइन् ।


यहि चलचित्र ‘म्ले क्यु’ को लागि यतिबेला कभर डान्स प्रतियोगीताको आयोजना गरिएको छ । ऐतिहासिक कथामा बनेको दावि गरिएको चलचित्रमा समाबेश ‘खै बिदो तो बिदो’ गीतका लागि कभर डान्स प्रतियोगिताको आयोजना गरिएको हो । चलचित्रको गीत सार्वजनिक गर्दै स्टार्स स्टुडियोले प्रतियोगितामा भाग लिन सबैलाई आह्वान गरेको छ । प्रतियोगितामा भाग लिन इच्छुकले जुनसुकै ठाउँबाट भाग लिन सक्नेछन् । त्यसका लागि भिडियो तयार पारी पोखरा न्युरोडस्थित स्टार्स स्टुडियोको कार्यालय अथवा अनलाइनमार्फत भिडियो पठाउनुपर्नेछ । यसरी प्राप्त भिडियो स्टार्स स्टुडियोको अफिसियल युट्युब च्यानलमा राखिने छ ।सबैभन्दा बढी हेरिएको कभर डान्स प्राथमितामा पर्नेछ भने छनोट समितिले पनि मूल्यांकन गर्ने छ । साउन मसान्तसम्म प्रतियोगितामा कभर डान्स पठाउन सकिने छ । यो प्रतियोगिताको बिजेताले ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ ।
चलचित्रको छायांकन प्रकाश गुरुङ ‘काश’ले गरेका छन् भने सम्पादन सन्तोष कोन्मेले गर्दैछन् । चलचित्रको अधिकांश छायांकन जसुको जन्म गाउँ स्याङ्जाको लामडाँडामा गरिएको छ । यसका अलावा पोखरा र घाचोकका दृश्य चलचित्रमा हेर्न पाइनेछ । रोसन गुरुङको लेखन रहेको चलचित्रमा माओत्से गुरुङ, रिया गुरुङ, डिबी गुरुङ, कमल गुरुङ, कृष्टी गुरुङ, बाल कलाकारमा रोनित गुरुङ आदी कलाकारको अभिनय हेर्न पाइनेछ ।


जसुले गुरुङ चलचित्र नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास, जुनीजुनी, लगायतका आधा दर्जन गुरुङ चलचित्रको सह–निर्देशन गरेकी थिइन् । उनले निर्देशन म्युजिक भिडियोको संख्या ७० भन्दा बढी पुगिसकेको छ । पोखराको न्युरोडमा स्टार्स स्टुडियो सञ्चालन गरी व्यवसाय र चलचित्रको यात्रालाई सँगसगै उनले अगाडी बढाइरहेकी छन् ।
वि.स. २०६३ मा ‘पात भन्दा फूल राम्रो’ गीतमा नृत्य गर्दै मोडलिङ क्षेत्रको यात्रा सुरु गरेकी उनलाई ‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतमा गरेको अभिनयले सबैमाझ चिनायो । उनले अभिनय गरेका गीतको म्युजिक भिडियोको संख्या तीस भन्दा बढी पुगीसकेको छ । उनले करण गुरुङ गोराको निर्देशनमा बनेको गुरुङ चलचित्र ‘टोरा’ मा नायिकाको भुमिका निर्वाह गरेकी थिइन् । उनले स्व.पेगी मुल्मीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र संकल्प, माओत्से गुरुङको निर्देशनमा निर्माण गरिएको गुरुङ चलचित्र नकै फुँ, राजु गुरुङको निर्देशनमा बनेको गुरुङ चलचित्र मिग्ली र नौजंग गुरुङको निर्देशनमा निर्माण भएको गुरुङ चलचित्र चोखो मायामा प्रमुख कलाकारको रुपमा अभिनय गरेकी थिइन् ।
गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष समेत रहेका ‘म्ले क्यु’ चलचित्रका मुख्य कलाकार माओत्से गुरुङले गुरुङ जातीको महत्वपुर्ण सस्कारलाई विषयवस्तु बनाइएका कारण दर्शकको साथ चलचित्रले पाउने बताउँछन् । ‘म्ले क्यु’ २०७४ सालमा जिफानमा दर्ता भएको छ । गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्र जिफानमा दर्ता भएर मात्र छायाकंन जाने चलन रहेको छ । चलचित्रको प्रर्दशन मंसीर महिनामा गर्ने चलचित्र युनिटको तयारी छ ।