पोखरा रंगशालामा क्षेत्रीय टेबल टेनिस प्रतियोगिता सुरु


पाेखरा । पोखरा रंगशालामा क्षेत्रीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्सतर्फ रुपन्देहीकी स्विकृति श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन् । खेलमा स्विकृतिले कास्कीकी कल्पना थापालाई ११–६, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरिन् । त्यसैगरी रुपन्देहीकी अमृताले कास्कीकी शान्ति थापालाई ११–६, ११–२ र ११–५ को सोझो सेटमा नै पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

पुरुष सिंगल्स सेमिफाइनलमा रुपन्देहीका गोविन्द कौशलले बागलुङका सुमेष लामालाई ११–९, १२–१०, ६–११ र ११–७ को सेटमा पराजित गरे भने रुपन्देहीकै कपिल थापाले कास्कीका रुप गुरुङलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का बनाए ।

टेबल टेनिसको महिला डबल्सको सेमिफाइनलमा स्याङजाकी शेवा श्रेष्ठ र मुना थापाको जोडीले कास्कीकी शान्ति थापा र कल्पना थापाको जोडीलाई ६–११, ११–४, १३–११, ५–११ र १५–१३ को सेटमा पराजित गरे । अर्को खेलमा रुपन्देहीकी स्विकृति श्रेष्ठ र अमृता थापाको जोडीले नवलपरासीकी प्रमिशा न्यौपाने र प्रतिमा खरेललाई ११–९, ११–४ र ११–३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे ।

पुरुष डबल्सतर्फ कास्कीका रुप गुरुङ र सुमेष लामाको जोडीले स्याङजाका दीपकराज गिरी र नवीन गुरुङको जोडीलाई ११–९, ११–६, ८–११, ११–१३ र ११–४ को सेटमा पाखा लगाए । रुपन्देहीका गोविन्द कौशल र कपिल थापाको जोडीलाई ११–१, ११–७ र ११–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने बताएकी छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सुरु भएको क्षेत्रीय स्तरीय महिला–पुरुष बक्सिङ र टेबुल टेनिस प्रतियोगिताको उद्घाटन गर्दै सरकारको लक्ष्य नै प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने बताएकी हुन् ।

क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई बक्सिङ गलभ्स् दिएर प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले भनिन, ‘प्रदेश सरकारले प्रदेशमा एक बहुउद्देश्यीय कभर्डहल, खेलकुद एकेडेमी, क्रिकेट स्टेडियम र गल्फ खेल गरी चार वटालाई प्राथमिकतामा राखेर ठोस र योजनाबद्ध तरिकाले काम बढाइरहेको छौं ।’

क्षेत्रीय खेलकुदविकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, क्षेत्रीय खेलकुदका डम्मरबहादुर नेपाली लगायतले बोलेका थिए । असार २८ गते सम्म हुने प्रतियोगितामा टेबलटेनिसतर्फ १६ जिल्लाका महिला–पुरुष खेलाडी सिंगल्स, डबल्स, र मिक्स डबल्समा प्रतिस्पर्धा गर्दैछन् ।