गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा वराल


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्रमुखमा धर्मराज वराल नियुक्त भएका छन्।

छोरेपाटन स्कुलबाट २०५२ सालमा प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उत्तिर्ण गरी पृथ्वीनारायण क्याम्पसमा विज्ञान विषयमा अध्ययन गर्दै २०५४ सालबाट सृजना वोर्डिङ स्कुलमा अध्यापन पेशा सुरु गरेका उनले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा वि.सं. २०६७ सालदेखि पार्टटाइम अध्यापन गराउँदै आएका थिए।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७, छोरेपाटन निवासी उनले पार्टटाईम शिक्षक भएता पनि उक्त क्याम्पसमा २ वर्षदेखि आन्तरिक गुणस्तर विभाग प्रमुखको जिम्मेवारी समाल्दै आएको वताए।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरी एम. फिल. अध्ययनरत वराल एस.ओ.एस. स्कुल, घारीपाटनका स्थायी शिक्षक समेत थिए। एस.ओ.एस.मा १७ वर्षदेखि अध्यापन गराउँदै आएका उनले छोरेपाटन माविमा २०६७ सालदेखि २०७२ सम्म उच्च मविका विद्यार्थीलाई अर्थशास्त्र विषय अध्यापन गराउँदै आएका थिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. भुपति ढकाल कमलको अध्यक्षतामा वसेको संचालक समितिको बैंठकले लामो समयदेखि रिक्त रहेको क्याम्पस प्रमुख पदमा वराललाई सर्वसम्मत रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।