पोखरा लनर्सका विद्यार्थी पोखरा बृद्धाश्रममा


राजाराम पौडेल, पोखरा – पोखराको माछापुच्छे« मार्गमा अवस्थित पोखरा लर्नस एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले वृद्धाआश्रममा पुगेर वृद्धवृद्धाको सेवा गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर त्यहा आश्रीत वृद्धवृद्धाको सेवामा उनीहरु जुटे । उनीहरुले त्यहाँ आश्रीत वृद्धवृद्घाहरुको पोशाक धोइदिनुको साथै नुवाइ, धुवाइ, र सरसफाइ गर्न समेत मद्धत गरे । साथमा विद्यार्थीहरुले आफ्नो जन्मोत्सवमा खर्च गर्ने केही रकम जम्मा गरी वृद्घवृद्घालाई खाना समेत खुवाए ।


विद्यार्थीमा सामाजिक सेवा, सहयोग र सद्भावको भावना वृद्घि गर्ने उदेश्यले पोखरा लनर्स एकेडेमीले सो अवसर जुटाएको विद्यालयका संस्थापक प्राचार्य विधान गौतमले बताए । वि.सं. २०५३ मा स्थापित पोखरा वृद्घाश्रममा हाल ५४ जना वृद्धवृद्धा आश्रित छन् ।


विद्यालयको सिकाइलाई व्यवहारिक, जीवनोपयोगी र सेवाभावसँग अन्तरसम्बन्धीत गर्न विद्यार्थीलाई वृद्घाश्रमको अवलोकन भ्रमणमा लगिएको थियो । भम्रणले बालबालिकामा जेष्ठ नागरिकप्रति सम्मान गर्ने भावना उत्पन्न हुने विश्वास संस्थापक प्राचार्य गौतमको छ ।


भम्रणमा सहभागी सुजिता खड्काल सधैँ अरुले सेवा गरेका समाचार मात्र सुन्न पाएको र आज आफै आएर वृद्घा हजुरबा हजुरआमाको सेवा गर्न पाउँदा आनन्द महसुस भएको प्रतिक्रिया दिइन् । विद्यार्थीहरुले वृद्घाश्रम परिसरमा वृक्षारोपण समेत गरेका थिए । विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख शिव परियारले विद्यार्थीलाई विविध कार्य सम्पादन गर्न सहजीकरण गरे । भ्रमणमा कक्षा १० मा अध्ययनरत ३० विद्यार्थी सहभागी थिए ।


सोही अवसर पारी विद्यालयकी संस्थापक सह–प्राचार्य उष्णा गौतमले वृद्घवृद्घालाई फलफूल तथा खाद्यान्न वितरण गरेकी थिइन् । वृद्घाश्रमको विविध गतिविधिका बारेमा वृद्घाश्रमका प्रमुख संरक्षक बसन्तकेशब पराजुली, अध्यक्ष टिकाबहादुर भण्डारीले सहजीकरण गरेको कार्यकम संयोजक कृष्ण लम्सालले जनाए । वि.स. २०६२ सालमा स्थापना भएको पोखरा लर्नस एकेडेमी मा हाल नर्सरी देखि कक्षा १० सम्मको पढाइ हुन्छ । उक्क्त विद्यालयमा हाल ५ सय ७५ विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक सँगै व्यवहारिक ज्ञानलाई समेत प्राथमिकता दिदै उनीहरुलाई समाजप्रति उत्तरदायी बनाउने कार्य गर्दै आएको छ ।

तस्विर : ज्ञानेन्द्र पौडेल