‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो


राजाराम पौडेल,पोखरा -पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा गत सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको नाटक ‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो बढ्न थालेको छ । नाटक मञ्चनको लागि अग्रिम टिकट बुकिङ गर्ने क्रम र सो बुक गर्ने कार्य बढ्दा आयोजकलाई यसको व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ । दैनिक साँझ ५ बजे एक सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो देखाउने योजना बनाएका थिएटर सञ्चालकले दर्शकको आग्रहमा बुकिङ सो समेत देखाउन थालेका छन् ।

दर्शकको आग्रहमा आगामी शनिबार तीन सो नाटक मञ्चन हुदैछ । तीन सो मध्ये विहान ८ बजे को बुकिङ सो हो । सोहि दिउँसो १ बजेको सो को लागि पनि टिकट बुकिङ भैसकेको छ । शनिबार साँझ ५ बजेको सो को लागि पनि अग्रिम टिकट बुकिङ गर्ने क्रम सुरु भएकोले शनिबार विदाको दिनमा नाटक हेर्ने सोच बनाउनु भएका दर्शकको योजना सफल नहुन पनि सक्नेछ । यसको लागि कि अग्रीम टिकट बुक गर्नुपर्छ कि अन्य दिनको सो को लागि समय व्यवस्थापन गर्नुपर्छ । ‘शनिबार हामीलाई धेरै नै प्रेसर छ दुई सो बुक भैसक्यो, बाँकी एक सो को लागि अग्रीम टिकट बुकिङ सुरु भइसकेको छ’ पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले भने । अन्य दिनको लागि पनि दर्शकको माग बढ्न थालेको उनले सुनाए । शुक्रबार साढे १२ बजे समेत बुकिङ सो देखाइदैछ ।

खगेन्द्र लामिछानेको लेखन निर्देशनमा मञ्चन भएको नाटकले दर्शकलाई मनोरञ्जन दिलाई रहेको छ । नाटकका विषयवस्तु, डाइलग, कलाकारको अभिनयले गर्दा यसअघि गन्धर्व नाटकघरमा मञ्चन भएका नाटक भन्दा दर्शकलाई मनोरञ्जन प्रदान गर्न यो नाटक सफल बनेको छ ।

 डेढ घण्टा लामो नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्द रमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेको अभिनय रहेको छ । प्रमिला १५ वर्ष पछि, गोविन्द्र रमण १७ वर्ष पछि, वर्षा केशव २० वर्ष पछि रंगमञ्चमा फर्किएका हुन् । उनीहरुको कमव्याकले नाटकलाई आर्कषक बनाइदिएको छ ।

 रमाइलो खालको यो नाटकले सन्देश पनि बोकेको छ । अभिनय सँगै रमाइलो पनि खोज्ने दर्शकको लागि खुराक नाटकमा प्रशस्तै छन् । लेखक तथा निर्देशक लामिछानेको गण्डकी प्रदेशमा बोलीने भाषको लवज प्रतिको मोह नाटकको विशेषता हो । जसले नाटकको आर्कषण बढाएको छ ।

परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक साउन १६ गते मञ्चन हुनेछ । थिएटरसँगको समन्वयमा बुकिङ सो समेत मार्फत समेत दर्शकलाई नाटक देखाउन थालिएको आयोजकले जनाए । नाटक हेर्नका लागि विद्यार्थीका लागि २ सय, सर्वसाधरणका लागि ३ सय र पाँच सय रुपैयाँको टिकट लाग्नेछ ।