यूरोपमा बढ्दो मानवतस्करी:-सभा-सम्मलेन टिपोटमै सिमित


बसन्त रानाभाट
  • वसन्त रानाभाट

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुसमा पुगेर एउटा फरक नेपालको चर्चा गर्दै थिए। नेपालको प्रतिमुर्ति निर्माण गरेकोमा गैर आबासीय नेपाली संघको पहल र नेतृत्वलाई उनले प्रंशसा समेत गरे। यसै साता देखि युरोप भ्रमणको सुरुवात रुसबाट गरेका भट्टराईले भने,”बिश्वसमुदायमा हाम्रो आफ्नै विशिष्ट सभ्यता र सस्कृति रहेको छ। यो हेरेर मलाई अत्यन्त खुशी लाग्यो। किनकी हामी एक बिश्वका अंग हौ।आफ्नो ईतिहास संस्कृति वास्तुकला झल्कने गरी नेपाल हाउस बनेको छ यसमा नेपालले पनि महत्वपूर्ण स्थान ओगटेको पाउँदा मलाई एकदमै खुशी लाग्यो।” नेपाल हाउस अघि भट्टराई दम्पत्ति दङ्ग पर्दै फोटो समेत खिचाउँन भ्याए।

उनले सामाजिक संजालमा लेखेका छन्,”यूरोपको अध्ययन भ्रमणको क्रममा पहिलो दिन दोहा हुँदै रूसको राजधानी मस्को पुगियो। लेनिनको देश घुम्ने र बुझ्ने पहिलेको योजना विशेषत २०७२ असोजमा अन्तिम क्षणमा कार्यक्रम रद्द गर्नुपर्दा अधूरै रहेको थियो। रूसमा रहेका गैरआवासीय नेपाली र रूसी विज्ञहरूसंगको छलफल र अन्तर्क्रियाबाट नेपाललाई कसरी छिटो समृद्धिपथमा लान सकिन्छ बुझ्ने अपेक्षा गरिएको छ।”

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रुसमा, लेनिनको समाथीस्थल अगाडि..

भट्टराईले लेनिनको देश घुम्ने धोको त अबश्य पुरा गरे तर त्यहाँ रहेका नेपालीहरुको अबस्था बारे कत्तिको चासो राखे वा राखेनन् ? लाखौ रुपैयाँ खर्च गरेर अबैधानिक बाटो हुँदै युरोप छिर्ने नेपाली युवाहरुको ट्रान्जिट जस्तै बनेको रुसमा लुकिछिपी रहेका नेपालीहरुबारे उनको ध्यान कत्तिको गयो ? यो बारे जानकार भए वा भएनन् ? बर्षौ अघि रुस आएर ब्यबसायिक,प्राबिधिक वा अन्य रुपमा सफल बनेका केहि नेपालीहरुको सफलता कथामा मात्र दंग परे वा लाखौ रकम बिचौलियाहरुलाई बुझाएर युरोप सपना बुनेका युवाहरुका कथा पनि सुन्न भ्याए। नेपालदेखि दिल्ली, मस्को हुँदै स्थल मार्गको प्रयोगसँगै युरोपका अन्य मुलुकहरु छिर्ने युवाहरुका डर लाग्दो अबस्थाबारे चासो ब्यक्त गरे त ?

***********

यस्तै चेक रिपब्लिकन होस् वा पोल्याण्डमा आउँदा थुप्रै नेपालीहरु ठगिएका छन्। गत बर्ष गैरआवासिय नेपाली संघ (एनआरएनए) को युरोपेली बैठक जर्मनीमा हुँदै गर्दा पोल्याण्ड र चेक रिपब्लिकनमा धेरै नेपालीहरु ठगिएको बिषयले ठुलो चर्चा पायो। त्यति बेला सभाकक्षमा नै चेक रिपब्लिकका एनआरएन प्रतिनिधिहरुले आवाज उठाएका थिए, “करिब ५/६ सय मान्छे अवैधानिक रुपमा यहाँआइसकेका छन्। चेक रिपब्लिकन आउनलाई फ्री भिसा हो, यहाँ पैसा लाग्दैन । तर एजेण्टहरुले १०/१२ लाख रुपैयाँ लिएर १ लाख तलब पाइन्छ, बस्न र खान फ्री हुन्छ भनेर मान्छे ल्याउँछन् । यस्ता माफियाहरुलाई  रोकिदिनुपर्‍यो । होइन भने चेक रिपब्लिकन एउटा ट्रान्जिट भएको छ ।”

नेपाल सरकारका प्रतिनिधिहरुलाई ध्यानआकर्षण गराउँदै उनिहरुको अनुरोध थियो। तर त्यो अनुरोध केवल टिपोटमा नै सिमित रह्यो। पोल्याण्ड र  चेक रिपब्लिकनमा लाखौ रकम बुझाएर आउँने नेपालीहरु अहिले अन्तिम गन्तब्यको खोजि गर्दै पोर्चुगल र स्पेनमा थुप्रिएका छन्। चेक रिपब्लिकन आउँनैका लागि एक नेपाली जोडीले ४० लाख रुपैयाँसम्म बुझाएको बताउँछन् । हाल स्पेनको बार्सिलोनामा आएका उनीहरुलाई जीवनकै ठुलो गल्ती युरोप छिर्नुलाई ठान्दै पछुतो मान्नु बाहेक अन्य बिकल्प रहेन।

गत बर्ष एनआरएनको युरोपेली बैठकमा जर्मनीस्थित नेपाली राजदूत रमेशप्रसाद खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले ,एनआरएन डेस्क हेर्ने उपसचिव डा. डमरुबल्लभ पौडेल, अर्थमन्त्रालयका अधिकृत भीमकान्त न्यौपानेले बुँदागत रुपमा नेपालीहरुका समस्याहरु टिपे।तर एउटा औपचारिकता मात्र निर्बाह गरे भन्दा पनि फरक पर्दैन। एनआरएनएका यस्ता सम्मेलनहरुमा पटक-पटक युरोपका नेपालीहरुका समस्याहरु बारे बहस भए तर  समाधान तर्फ कसैको चासो देखिएन। सम्मेलन सकिए पछि एनआरएन पनि चुपो लागेर बस्ने अर्कोतर्फ सरकार उचित संयन्त्रका साथ समाधानको बाटो तर्फ उन्मुख देखिदैन।

यसै साता एनआरएनको एघारौ युरोपेली बैठक लक्जम्वर्गमा हुँदैछ। बिगतमा भईआएका यस्ता बैठक वा सम्मलेनको प्रगति बिबरणलाई हेर्ने हो भने,यसपटक पनि सुन्ने र टिप्नेमा नै सिमित रहन्छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ। सम्मेलनमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अथितिको रुपमा सहभागी हुँदा युरोपमा रहेका नेपालीहरुका समस्यालाई एकै पटक सुन्ने र नजिकबाट बुझ्ने मौका भने प्राप्त गर्नेछन्।

***********

अबैधानिक रुपमा रुपमा युरोप आएका तथा अन्य मुलकमा बैधानिक बस्ने आधार सकिए पछि अन्तिम गन्तब्यका रुपमा पोर्चुगललाई हेर्ने गरिन्छ। मानवतस्करहरुले समेत पोर्चुगलको सपना बाँड़दै नेपालमा लाखौ रकम कुम्लाउने गरेका घटनाहरु सुनिन्छन्।पोर्चुगलको खेतीमा नेपाली श्रमिकहरु चुहाएका छन् तर श्रमको उचित मुल्याङ्कन हुन सकेको छैन। सामाजिक नेतृत्व गरिरहेका केहि नेपालीहरुले  नै श्रमशोषण गर्दै आफ्नो खल्ती भरिरहेका आरोप लगाउनेको कमी देखिदैन। रोजगारीका लागि पोर्चुगल आउँने सिधा ढोका खोल्न वा कामदारको बिषयमा दुबै मुलुकहरुबीच राम्रो संयन्त्र बनाउन नेपाल सरकारले सक्रियता बढाउँन जरुरी छ।

मन्त्री ज्ञवालीले बुधबार पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भासँग भेटबार्ता गरे। झन्डै २० हजार नेपालीहरु बस्ने अनुमान गरिएको पोर्चुगलका नेपालीहरुको समस्यालाई गम्भीरताका साथ प्रस्तुत गर्न सके वा सकेनन् ? आफ्ना समकक्षीसँग भेटबार्ता गर्दा नेपाल पोर्चुगलको कुटनीतिक सम्बन्ध लगायत दुईपक्षिय हितको बिषयमा पहिलोपटक उच्चस्तरीय छलफल भयो।सुनौलो मौकाको सदुपयोग भयो वा भएँन त्यो त आगामी दिनले नै बताउला।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पोर्चुगलका नेपालीहरु माँझ..

केहि दिन अघिमात्र नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले समेत पोर्चुगलको भम्रण गरे। नेता निधिले युरोप भेलामा आएका काँग्रेस कार्यकर्ता छलफल र अन्तरक्रिया मात्र हैन प्रशिक्षण समेत दिए। के उनि समग्र युरोपवासी नेपालीहरुका समस्यालाई बुझेर फर्केका छन् त ? प्राय; नेताहरु युरोपको विकास र समृद्धिको बारे चर्चा गर्ने,घुमफिर गर्दै परिबारसँग फोटो खिचाउने र  नेपाल फर्किए पछि युरोपमा संघर्षरत नेपालीहरुको पिडालाई बिर्सने गरेको पाईन्छ। बिशेष गरी मानवतस्करको प्रलोभनमा परी युरोप आएका वा बिचैमा अलपत्र परेका नेपालीहरुको पिडालाई भुलेको पाईन्छ।

उपसभापति निधि पोर्चुगलमा युरोपका कांग्रेस कार्यकर्ताहरु माँझ..

***********

प्रबासी नेपालीहरुका समस्याहरुबारे चासो राख्दै गर्दा पछिल्लो क्रममा ईटाली आएका नेपाली युवाहरुको कथा डरलाग्दो छ  केहि महिना अघि म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ बर्षीय धनमान पूर्जाले ईटाली आउनेक्रममा ज्यान गुमाए।लिबियादेखि सामुद्रिक बाटो हुँदै ईटाली छिर्ने क्रममा ट्युवको डुङ्गामा पानी छिर्न थाले पछि बाँच्ने आशा गुमाएर अचेत बनेका पुर्जाले बाटोमा नै ज्यान गुमाए। धनमानका श्रीमती र ४ छोराछोरीले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन्। युरोप पुगेर धन कमाउने पुर्जाको ठुलो सपना थियो तर उनको सपनालाई सामुन्द्रिक डुङ्गाले चकनाचुर बनाईदियो।

उनिसँगै यात्रा गरेका अन्य १२ नेपालीहरु बाँच्न सफल त बने तर ईटाली छिरेपछि धन कमाउने सपना भने तुहिएको छ।  इटाली पुगेर महिनामा नै १५/१७ सय युरोसम्म कमाइन्छ,कार्ड बन्छ भन्ने प्रलोभनमा परेको उनीहरु अहिले पछुताईरहेका छन् । युरोप छिर्नकै लागि उनीहरुले जनही १३ देखि १७ लाख रुपैयाँसम्म रकम खर्च गरे तर ईटालीको वास्तविकता भने भिन्नै रहेको छ। ईटाली घटनाले युरोप छिर्न नेपालीहरु जस्तो सुखै जोखिम मोल्न पनि तयार छन् भन्ने बुझ्न सकिन्छ।

त्यसो त पुर्जाको मृत्यु अघि र पछि पनि नेपालीहरु लिबियादेखि सामुद्रिक बाटो हुँदै ईटाली छिर्ने क्रम अझै रोकिएको छैन। अफ्रिकी मुलका आप्रबासीहरुसँगै ज्यान जोखिममा राखेर युरोप छिर्ने युवाहरुको यस्तो कदमलाई रोक्न कस्तो कदम चाल्न उचित छ ? प्रलोभनमा पार्ने मानवतस्कर देखि बिचौलियालाई कार्बाही गर्न सरकारले किन उचित कदम चाल्न सक्दैन ? जोखिमपूर्ण यात्रा पार गर्दै ईटालीस्थित शरणार्थी शिविरमा रहेका ति नेपालीहरुले, ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका बताउदै आएका छन्।

यस्तै साईप्रसमा घरेलु कामका लागि आएका महिलाहरु तथा बिद्यार्थीहरु समेत ईटाली मोहका कारण लाखौ रकम खर्च गरेका छन्। साईप्रस,टर्की बुल्गेरिया हुँदै सर्भिया र,क्रोयसिया,स्लोभोनिया हुँदै अबैधानिक रुपमा ईटाली छिर्ने क्रम बढ्दो छ। बाटोमा बन्धक बनाउदै याताना दिने र ब्याकमेल गर्दै परिबारबाट बिचौलियाले रकम असुल्ने गरेको पिडितहरु बताउँछन्। युरोप सपना बोकेर आएका थुप्रै नेपालीहरु टर्कीमा अलपत्र परेका छन्।

***********

घरेलु कामका लागि साईप्रस आएका नेपाली महिलाहरुको आफ्नै समस्या छ। डेनमार्क,फिनल्याण्डमा वा स्विटजरल्यान्डमा अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुको समस्या पनि उत्तिकै पाईन्छ। चाहे स्पेनमा बैधानिक रुपमा बसेका नेपालीहरुलाई परिबार पुनर्मिलनका लागि दिल्ली स्थित स्पेनिस दूताबासले दिने सास्ती होस् वा ईटाली,बेल्जियममा शरणार्थी बन्दै स्थायी बसाईको अनुमतिको पर्खाईमा रहेका नेपालीहरुको पिडा किन नहोस्  आ-आफ्नो ठाउँमा उत्तिकै छ।

तर मुख्यत; अबैध रुपमा युरोप छिर्ने क्रममा नेपालीहरुले भोगेको पिडा दर्दानक छन्। यसै क्रममा बिभिन्न मुलुकहरुमा नेपाली युवाहरु थुनिएका छन्। कतै बिचौलियाले बन्धक बनाएर मोटो रकम असुलेका छन्। कठिनपुर्बक युरोप आईहाले पनि लाखौको ऋण थाप्लोमा बोकेर कैयौ युवाहरु पछुतो मानिरहेका छन्।

एनआरएनको युरोप सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवाली सहित पूर्वप्रधानमन्त्री भट्टराई पनि सहभागीता रहने छ। सम्भवत: युरोपका नेपालीहरुका समस्याहरु बारे बैठकमा अझ गम्भिर रुपमा बुझ्नेछन्। हालै युरोप भ्रमण गरी फर्केका कांग्रेस उपसभापति निधि हुन् वा भम्रण गरिरहेका पूर्वप्रधानमन्त्री भट्टराई हुन् वा परराष्ट्रमन्त्री ज्ञवाली।

मानवतस्करीका यस्ता घटनाहरु रोक्न तत्काल पहल गर्न जरुरी छ। आफ्ना पार्टीनिकटका कार्यकर्तासँगै युरोप घुम्ने,यहाँको बिकास र समृद्धि बारे भाषण गर्दै फोटो मात्र खिचेर फर्कने हो भने बिचौलियाहरु झनै मौलाउदै जानेछन्। युरोपमा अबैधानिक रुपमा रहेका नेपालीहरुको अबस्था झनै दर्दानक बन्ने छ।