आईनाको स्कुललाई बेलायतबाट ७ लाख रुपैयाँ सहयोग


बार्सिलोना। यतिबेला बेलायतवासी नेपालीले आईना बार्काको परोपकारी कार्यमा आर्थिक सहयोग जुटाइरहेका छन् । स्पेनमा जन्मेकी आईनाले एक्काईस वर्षको उमेरदेखि नेपालमा सुस्तमनःस्थिति र अपाङ्ग बालबालिकाको शिक्षादीक्षा र भरणपोषणका लागि काम गर्दै आएकी छिन् ।

एनआरएनए युकेका सचिब नारायण गाउँलेको पहलमा बार्कालाई सहयोग संकलन गर्न लागिएको हो । महासचिब राजकुमार त्रिपाठी, पूर्व सचिब कृष्ण तिवारी र समाजसेवी लक्ष्मी राई (लारा) सम्मिलित एउटा समितिमार्फ़त सहयोग संकलन भइरहेको छ । हालसम्म झन्डै सात लाख नेपाली रुपियाँ बराबरको प्रतिबद्धता आएको र अधिकांश रकम उठिसकेको जानकारी पुर्ब सचिव तिवारीले दिए ।

यसैबीच बेलायतका समाजसेवी एवं एनआरएनएका संस्थापक सचिब चिरन्जीवी ढकालको संयोजनमा एक लाख पन्ध्र हजार रुपियाँ आईना बार्कालाई हस्तान्तरण गरिएको छ । ढकालको गृहजिल्ला मकवानपुरमैं आईना बार्काको विशेष स्कुल सञ्चालित छ । समाजसेवीहरू कृष्ण भट्ट, कृष्ण तिमिलसिना, विजन भट्ट, वरिष्ठ पत्रकार भगीरथ योगी र एनआरएनए उपाध्यक्ष कुल आचार्यलगायतका प्रबुद्ध व्यक्तिहरूले आईनालाई भेटेर संयुक्त रूपमा विशेष सहयोगको वचन दिएका छन् ।

तत्कालका निम्ति एकलाख पन्ध्र हजार रुपियाँ हस्तान्तरण गर्दै विद्यालयले बनाउन लागेको छात्रावासका निम्ति भविष्यमा निरन्तर सहयोग गरिने आश्वासन दिइएको कृष्ण भट्टले जानकारी दिए । आफ्नो परोपकारी कार्यलाई एनआरएनएसँग जोड्ने श्रेय एनआरएनए केन्द्रिय उपाध्यक्ष  कुल आचार्यलाई जाने र त्यसका निम्ति आफू कृतज्ञ रहेको बार्काले बताइन् । आचार्य युरोप संयोजक हुँदा डेनमार्कको कोपेनहेगन सम्मेलनबाट एनआरएनएले यसअघि १३ लाख रुपियाँ सहयोग गरिसकेको छ । सो सम्मेलनमा एनआरएनएन निर्बमान अध्यक्ष शेष घले एक्लैले ६ लाख रुपैयाँ सहयोग गरेका थिए।

आईनाले गत आइतबार लण्डनमा नेपालब्रिटेनडटकमको वार्षिक कार्यक्रममा आधा घण्टा लामो प्रस्तुति दिएकी थिइन् । उनले नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको कष्टकर जीवनबारे प्रकाश पार्दै तिनको मायाले आफूलाई नेपालसँग जोडेको बताइन् । नेपालब्रिटेनडटकमले समेत उनलाई आर्थिक सहयोग गर्ने वचन दिएको छ ।