मानवतस्करी रोक्न पोर्चुगल र नेपाल सरकार मिलेर काम गर्छ:- परराष्ट्रमन्त्री ज्ञवाली


बार्सिलोना/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानवतस्करीलाई रोक्न पोर्चुगल र नेपाल सरकारले मिलेर काम गर्ने बताएका छन्। युरोपेली मुलुक पोर्चुगलका उच्चपदस्थ अधिकारीहरुसँगको भेटबार्ता पछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

संचारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने,”हामी दुवै पक्षले कुनै पनि गलत धन्दा गर्नेहरु,मानवबेचबिखन या तस्करीमा संग्लग्नहरुले सोझासाझा नेपालीहरुको गरिबी र अज्ञानताको फाईदा उठाउने स्थिति नहोस्।यसलाई रोक्नका लागि दुवै सरकार मिलेर काम गर्नेछौ।” युरोपमा बढ्दो मानवतस्करीका घटनाहरु बारे जिज्ञासा राख्दा उनले यस्तो बताएका हुन्।

प्रबासमा रहेको नेपाली समाज,एनआरएन लगायत संघ संगठनले पनि यस्ता घटनालाई रोक्न खबरदारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए। पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भासँग बुधबार उनले भेटबार्ता गरेका थिए। दुई पक्षीय हितका बिषयहरुमा कुराकानी गर्दै नेपाल पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर भएको समेत उनले जानकारी दिए।

मन्त्री ज्ञवालीले भने,” यो भम्रणको मुख्य उदेश्य नै नेपाल र पोर्चुगलको बिचमा दुई पक्षीय परामर्श संयन्त्र बनाउनु हो। यसको नियमित बैठक मार्फत ब्यापार,लगानी पर्यटन, भाषा र संस्कृतिको आदानप्रदान लगायत बिबिध समस्याहरुको बारेमा छलफल हुनेछ। पोर्चुगलको कृषिमा थुप्रै नेपालीहरुले पसिना बगाईरहेका छन्। श्रम सम्झौता गर्न सकियो,र संयन्त्र मार्फत नेपाली श्रमिकहरुको आदानप्रदानलाई बढाउन सकियो भने धेरै राम्रो हुने थियो।”

मन्त्री ज्ञवालीले पोर्चुगलका विदेशमन्त्रीलाई समेत नेपाल भ्रमणको निम्तो दिएका छन्। युरोप भ्रमणका रहेका उनि पोर्चुगलको भ्रमण सकेर हाल बेल्जियममा उच्चस्तरीय भेटबार्ता र छलफल गरिरहेका छन्। परराष्ट्रमन्त्री ज्ञवाली आईतबार लक्जम्वर्गमा सुरु हुने एनआरएनको युरोपेली बैठकको समेत उद्घाटन गर्नेछन्।