लालबाबुलाई इंकित गर्दै परराष्ट्रमन्त्रीले भने:-“एनआरएनको चित्त दुखेको भए सरी”


बसन्त रानाभाट,बार्सिलोना। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आबासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारको बिकास साझेदार भएको बताएका छन्। एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एनआरएनलाई भूपू नेपालीको अभिव्यक्ति दिएको प्रति इंकित गर्दै ज्ञवालीले भने,” व्यक्तिगत रुपमा कोहि जिम्मेबार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने सरी भन्न चाहन्छु। तर नेपाल सरकारको आधिकारिक धारणा के- हो भने म फेरि दोहोर्याएर भन्छु तपाईहरु बिकासको पार्टनर नै हो।”

तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशको मताअधिकार र नागरिकता लिएका नेपाली भूपू नेपाली हुन् भन्ने अभिव्यक्ति सार्बजनिक रुपमा नै दिदै आएका छन्। मन्त्री पण्डितले  भविष्यमा आवश्यक कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैत्रिक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु भन्ने अभिव्यक्ति समेत दिएका थिए ।

बैठकलाई सम्बोधन गरेका परराष्ट्रमन्त्री ज्ञवालीले पण्डितको नाम त लिएनन् तर घुमाउरो भाषामा माफि माग्दै भने,” व्यक्तिगत कुराहरुलाई व्यक्तिगत रुपमा नै डीस्कार्ड गरीदिनु हुन म अनुरोध गर्दछु। यहाँहरुलाई आश्वस्त तुलाउन चाहान्छु। बाध्यताले जहाँ सुकै बस्नुहोस् तपाईहरुको स्टाटस जुनसुकै होस्। नेपालको विकासमा तपाईहरु महत्वपूर्ण साझेदार हो। साझेदारको हिसावले तपाईहरुलाई स्वागत गर्न नेपाल सरकार सदैव तयार छ।”

उनले संबिधानमा व्यबस्था भए अनुसार गैर आबासीय नेपालीहरुलाई आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकताका दिलाउने प्रतिबद्दता ब्यक्त गरे। मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कुनै पनि हालतमा कटौती नगर्ने बताएका छन्।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका एनआरएनको दुई दिने बैठकमा मन्त्री ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका छन्।