ल्वाङ्गमा स्वास्थ्य स्वयंसेविकाहरुलाई पुनर्ताजगी तालिम


पोखरा । कास्कीको पर्यटकीय गाउँल्वाङमा महिला स्वास्थ्य स्वयंसेविका पुनर्ताजगी सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ।

नौलो घुम्ती नेपालको आयोजनामा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोग तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा उक्त प्रशिक्षण तालिम भएको थियो।

गुड नेवर्स ईन्टरनेशनलका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलालले महिला स्वास्थ्य स्वयंसेविकाद्वारा भएको कामको प्रशंसा गर्दै ल्वाङ्ग घलेल स्वास्थ्यचौकीलाई एउटा नमुना महिला स्वास्थ्य स्वयंसेविका परीचालन क्षेत्रको रुपमा र्निमाण गर्न सकिने र अन्य क्षेत्रका लागी उदाहरणीय बनाउन जोड दिनुपर्ने बताए ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकालाई स्वास्थ्य क्षेत्र नमुना बनाउने लक्ष्य रहेको र आगामी दिनहरुमा पनि संस्थाको साथ सहयोग निरन्तर रहने नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले वताए ।

त्यसैगरी माछापुच्छ्रे गाउँपालिकाका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले उक्त क्षेत्रको विकासका लागी नौलो घुम्ती नेपालसंग सहकार्य तथा समन्वय गरी अगाडी बढ्ने वताउदै वडामा म्याचिङ्ग फण्डको ब्यवस्था समेत गरिएको जानकारी दिए ।

कार्यक्रममा नौलो घुम्ती नेपालका महासचिव बद्रीविनोद प्रतिक, नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक रामशरण सेडाई, नौलो घुम्ती नेपालका वित्तीय तथा प्रशासन अधिकृत तुलबहादुर रानाभाटको सहभागीता रहेको थियो ।

प्रशिक्षणमा माछापुच्छ्रे गाउँपालिकाका ८ र ९ नं वडाका १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो भने सहजीकरण माछापुच्छ्रे गाउँपालिका ८ र ९ नं वडाका स्वास्थ्य चौकी प्रमुख आनन्द बरालले गरेका थिए ।

नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यक्रम प्रमुख सुनिल सुवेदीले गरेका थिए।