“एनआरएनएभित्रको बेथिति सडकमा”


नारायण गाउँले 
  • नारायण गाउँले 

लग्जेम्बर्गको युरोप बैठकपछि एनआरएनएभित्रको बेथिति, विभाजित मानसिकता र गुटबन्दी सड़कभरि पोखिएको छ ।
युके, जर्मनी, पोर्चुगल, डेनमार्क, स्पेनलगायत युरोपका १७ वटा राष्ट्रिय समिति (एनसिसी)ले बैठकप्रति जनाएको तीव्र असन्तुष्टिमा केन्द्रीय उपाध्यक्ष कुल आचार्य, सचिब जानकी गुरुङ्ग र सहकोषाध्यक्ष सोम सापकोटाले समेत साथ दिएपछि अहिले यो विषय पेचिलो बनेको छ ।

तीन दिनसम्म चल्ने बैठक क्षेत्रीय भए पनि क्षेत्रीय समितिहरूलाई भूमिकाविहीन बनाउँदै केन्द्रीय नेतृत्वकै हालीमुहाली हुने र यस्तो-उस्तो शीर्षकमा सर्वज्ञजस्तै तिनै व्यक्ति बारम्बार मञ्चमा आइरहने दृश्य लग्जेम्बर्गको मात्रै होइन, यसअघिका हरेक बैठकको पनि हो । कोपेनहेगनदेखि फ्ऱ्याङ्कफर्टसम्म मैले यही महसुस गरें । मैले सम्मेलन सुरु हुनुअगाडि नै स्टाटस लेखेर यस विषयमा असन्तुष्टि पोखेको थिएँ ।

तीन दिनको बैठक (सम्मेलन पनि होइन, बैठक-मिटिंग)मा राष्ट्रिय समितिहरूले जम्मा पाँच मिनेट प्रस्तुति दिन पनि नपाउने तर असान्दर्भिक केन्द्रीय नेताहरूले बारम्बार माइक पाएर घन्टौँ बोलेको सुन्नुपर्नेप्रति गरिएको विरोधलाई ‘बोल्न नपाएर गरिएको विरोध’ भनेर हलुका टिप्पणी गरिहाल्नु गलत हुनेछ । आफ्नै लगानीमा भएको आफ्नै बैठकमा समेत आफ्ना कुरा सुनाउन नपाइने र आफ्नो भूमिका नहुने भएपछि त्यसको विरोध हुनु स्वाभाविक हो ।

केन्द्रीय नेतृत्व त्यसै पनि यतिबेला गतिहीनता र राजनैतिक गुटबन्दीको शिकार भएको छ । कार्यकारी अधिकृतलाई तजबीजी तवरले हटाएको घटनालाई अदालतले समेत गलत भनिसकेको अवस्था छ । केन्द्रीय पदाधिकारीको गुटबन्दी र क्रेडिट पाएमात्रै काम गर्ने प्रवृत्तिले गर्दा भवन भट्ट अलगथलग भएका छन् र सिङ्गो कार्यसमिति दिशाहीन देखिएको छ । कुनै नयाँ योजना, लक्ष्य या कार्यक्रम आएको छैन । शेष घलेको पालामा उठाइएको पैसा खर्च गर्नेबाहेक खास उपलब्धि यतिबेला देखिन्न । घले जत्तिको अहिलेको नेतृत्व खट्न सकेको पनि देखिन्न ।

घलेको नेतृत्वमा एनआरएनएको ‘ब्राण्ड भ्यालु’ बढेको थियो । विश्वभरबाट राहत तथा मेगाप्रोजेक्टका निम्ति ठूलो रकम उठेको पनि थियो । उनी आफै रातदिन खटिने गरेका थिए । तर उनको ‘असमावेशी’ कार्यशैलीलाई लिएर सङ्गठनभित्र विरोध भएको थियो । सङ्गठनका पूर्व तथा वर्तमान पदाधिकारी र अभियन्तालाई साथमा लिएर हिँड्न नसकेको मुख्य आरोप थियो । एकल नेतृत्वजस्तो देखिएको र आफू पेलिएको गुनासो सबैको थियो ।

तत्कालीन महासचिब बद्री केसीले विद्रोहको नेतृत्व गरेका थिए । सबै एक भए र घले पाखा लागे । अहिले फेरि त्यही दृश्य दोहोरिएको छ । केन्द्रीय पदाधिकारीमैं पनि आफ्नो गुटको मात्रै क्लबजस्तो गरी सङ्गठन चलिरहेको र अन्यको कुरा नसुनिने आरोप उपाध्यक्ष कुल आचार्यलगायतका निर्वाचित पदाधिकारीको छ । अहिलेको युरोप बैठकले पनि त्यसको पुष्टि गरेको धेरैको अनुभव छ । पूर्व युरोप संयोजक समेत रहिसकेका आचार्यलाई नियोजित रूपमैं मञ्च नदिइएको र निर्वाचित युरोप उपसंयोजक एकराज गिरीलाई बाइपास गरिएको धेरैलाई महसुस भएको रहेछ ।

१७ देशका एनसीसी प्रमुखको संयुक्त विज्ञप्तिले यो स्पष्ट सङ्केत गर्दछ । आन्तरिक रूपमा उठाइने कुनै पनि सुधार या विरोधको आबाज भित्रै दबाइने गरेकाले विज्ञप्ति प्रकाशन गर्न बाध्य भएको दाबी तिनको छ । विज्ञप्तिको भाषाशैली र शब्दचयन भने सारै फ़ितलो छ । लग्जेम्बर्ग एनसीसीको आतिथ्य र कार्यक्रममा खटाइप्रति भने सबै पक्ष धन्य र कृतज्ञ देखिएको पाइयो ।

विश्वव्यापी संस्थामा आन्तरिक सङ्घर्ष र विमतिहरू अस्वाभाविक नहोलान् तर यसले डायस्पोराको नेपाली समाजलाई विभाजित गर्नुअघि नै यसका अगुवा भन्नेहरूले बुद्धि र विवेक प्रयोग गर्नु आवश्यक छ । आखिर संस्था चाहिएको नेपाली समाज तोड्न या फोड्न होइन, जोड्नका निम्ति हो । चिरा परेको समाजको अध्यक्ष या प्रमुख हुनुको महत्त्व पो के रहला र ? उपाध्यक्ष र सचिबको कुरो अलग होला तर युरोपको क्षेत्रीय बैठकमा युरोपकै अधिकांश एनसीसी असन्तुष्ट बन्नु सामान्य विषय होइन । आगामी समीक्षा बैठकमा यसबारे विमर्श होला नै ।

आगामी युरोप बैठकलाई केन्द्रीय नेतृत्वको चुनाबी तयारीको भेलामात्रै बनाउने, आफ्नो गुटको प्रबर्द्धन गर्ने, आफ्नो गुट या दलसँग सम्बन्धित नेपालका दलीय नेतालाई बोलाएर आफ्नो दुनो सोझ्याउने प्लेटफर्म नबनाई क्षेत्रीय एनसीसीहरूबीच गहिरो र व्यापक छलफल गर्ने र सामूहिक समस्या, चुनौती र सम्भावना पहिचान गर्ने बैठकका रूपमा विकास गरियोस् भन्ने चाहना मजस्ता धेरैको छ । नत्र हजारौं रुपियाँ खर्च गरेर तारे होटलमा त्यही बासी भाषण सुन्न जानुको अर्थ के हुन्छ र ?

(लेखक एनआरएनए राष्ट्रिय समन्वय परिषद युकेका सचिव हुन्।)