फेसबुकबाट स्पेनी लिगा:-नेपालमा निशुल्क हेर्न पाईने


स्पेनी फुटबल लिगले सबै प्रमुख स्पेनी फुटबल खेलहरू दक्षिण एशिया नि:शुल्क प्रसारण गर्न सामाजिक सञ्जाल फेसबुकसँग एउटा सम्झौता गरेको घोषणा गरेको छ। त्यसको अर्थ आउने शुक्रवारदेखि स्पेनी लिग ला लिगाको नयाँ संस्करण सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ्स, बाङ्ग्लादेश र अफगानिस्तान गरी सबै दक्षिण एशियाली देशमा फेसबुकमार्फत् ३८० वटा खेलहरू हेर्न सक्नेछन्।

बीबीसीका एक सम्वाददाता भन्छन्, “यो स्पेनी लिग ला लिगाका सबै खेलहरू फेसबुकका दक्षिण एशियाली फुटबल दर्शकसमक्ष पुर्‍याउने सम्झौता हो। यसबाट त्यस क्षेत्रका करोडौँ दर्शकलाई लाभ पुग्ने फेसबुकको भनाइ छ।” दक्षिण एशियामा ३४.८ करोड फेसबुक प्रयोगकर्ता छन्। भारतमा मात्रै २७ करोड जनाले फेसबुक चलाउने गर्छन्।

भारतमा फुटबल खेलका दर्शकहरूको सङ्ख्या पनि बढिरहेको छ।

प्रत्यक्ष अन्तर्क्रिया

फेसबुकले यसअघि नै केही बेसबल म्याचहरू प्रत्यक्ष प्रसारण गर्दै आएको छ। अब उसले अन्य खेलहरू प्रत्यक्ष प्रसारण गरेर प्रत्यक्ष अन्तर्क्रियाको सम्भाव्यतामा नयाँ प्रयोग गर्न लागेको छ। भारत र अन्य दक्षिण एशियाली देशहरूमा फुटबल लोकप्रिय हुँदै गइरहेको छ। भारतमा स्पेनी लिग ला लिगाभन्दा बढी इङ्ग्लिश प्रेमिअर लिगका खेलहरू हेर्ने दर्शकहरू बढी रहेको आकलन गरिएको छ। –बीबीसी