दाह्री ग्याङको रक्तदानमा २०१ युनिट रगत संकलन


पोखरा – विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय बनाउँदै आएको दाह्री ग्याङका पोखराका सदस्यहरुले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा २ सय १ युनिट रगत संकलन भएको छ । अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आयोजित रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवाहरुलाई युवतीहरुले समेत साथ दिए । गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले केदारेश्वर मन्दिर छिर्ने गेट नेरै कार्यक्रम आयोजना गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दाह्री पाल्ने र मन पराउने युवाहरु एकताबद्ध भई वर्षेनी यस्तो कार्यक्रम गर्नु अत्यन्त प्रशंसायोग्य रहेको बताए । उनले पहिलो रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्की अध्यक्ष तीर्थराज अवस्थीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । अवस्थीले ५४ औं पटक रक्तदान गरेका हुन् ।


स्थापना लगत्तै रक्तदान कार्यक्रम गरेर युवा दिवस मनाउन थालेका उनीहरुको यो कार्यक्रम वर्षेनी सहभागीता भने बढ्दै गएको छ । पहिलो रक्तदानमा १०३ युनिट रगत संकलन भएको थियो भने गत वर्ष १६५ युनिट ।
रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, क्षेत्रीय रक्तसञ्चार सेवा, पोखराका अर्जुन ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रममा दृष्टिविहीन सम्राट गौतमले १३ औं पटक रक्तदान गरे भने कान्छो सक्रिय सदस्य आशिष पुरी १८ वर्ष पूरा भएपछि पहिलो पटक रक्तदान गरे ।

समूहका संयोजक बसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक संयोजक शेखर गौतमले गरेका थिए । कार्यक्रमको सञ्चालन देउता पौडेल र विक्रम पाण्डेले गरेका थिए । कार्यक्रमलाई क्षेत्रीय रक्तसञ्चार, मुल्थोक टोल बिकास संस्थाको सहयोग रहेको थियो ।