अमेरिकामा रहेका नेपाली ट्याक्सी ड्राईभरहरुको नालीबेली:-


तस्बिर:- गुगल

अनिल अधिकारी

बाग्लुङका डोलेन्द्र पौडेलको सपना थियो, सपनाको देश अमेरिकामा ट्याक्सी गुडाउँनु । अमेरिका आईपुगेको केही बर्षमा उनले त्यो सपना पुरा गरे । सामान्य काम गरे वापत भन्दा बढ्ता कमाई पनि हुने अनि आफ्नो काम आफ्नो अनुकुल पनि गर्न पाईने । यही आधार बनाएर डोलेन्द्रले ट्याक्सी चलाउने सपना देखे । अनि पुरा पनि गरे । घण्टा हान्नु भन्दा ट्याक्सी चलाउनुको मज्जै बेग्लै, पौडेलको भनाई छ ।

शुरुवाती दिनमा दिनको बढीमा चार सय डलर सम्म कमाई भयो, हप्तामा एक दिन बिदा बस्दा पनि यसरी महिनामा हिसाव गर्दा खर्च कटाएर आफ्नो पकेटमा पाँच हजार डलर । त्यो भनेको नेपाली रुपैैंयामा हेर्दा पाँच लाख भन्दा बढी, आफ्ना शुरुवाती दिनबारेमा आफ्नो अनुभव सुनाउँदै पौडेलले भने, आजका दिनमा आई पुग्दा उनि पेशा परिर्वतन गर्ने मनस्थितिमा पुगेका छन् ।

नेपालीले गजज्ब कमाई गर्छन् । बाध्यता आवश्यकता वा अन्य कारणले अमेरिका आईपुगेका नेपालीहरुले गर्ने सामान्य कामका आधारमा भन्ने हो भने ट्याक्सी चलाउने नेपालीहरुले गजज्ब कमाई गर्ने गरेको हामीसंग कुराकानी गर्ने नेपालीहरुको भनाईलाई आधार मान्न सकिन्छ ।

यस्तै अन्य राज्यहरुमा रहेका नेपालीहरुले समेत ट्याक्सी चलाउने पेशालाई मुख्य पेशा बनाउने गरेका छन् । कारण हो, आफु अनुकुलको समयमा काम गर्न पाइने, कमाएको पैसा उतिबेलै आफ्नो बैंक खातामा हाल्न पाइने, परिवार भएमा आफ्ना नानीबाबुलाई बिद्यालय पुराउन पाइने, यदी घरमा कोही बिरामी भएमा तत्काल काम बन्द गरेर परिवारलाई समय दिन पाइने, ग्यास स्टेशन जस्तामा घण्टा हान्नु भन्दा ट्याक्सी चलाएर कमाई राम्रो हुने भएकाले यो पेशा आर्कषणको पेशा बन्ने गरेको छ ।

सामान्य प्रकृतिका काममा पाइने तलबलाई हिसाव गर्दा ट्याक्सी चलाएर न्यूयोर्क सिटीमा पाँच हजार डलर सम्म कमाई हुने भएकाले पनि धेरै नेपालीहरुले यो पेशा अंगाल्ने गरेको पाइन्छ । अर्को तर्फ केही काम परेमा कसैसंग छुट्टी लिनुपनि नपर्ने आफुलाई मन लागेको समयमा काम गर्न पाइने भएकाले पनि यसमा अधिकांश नेपालीको ध्यान गएको पाइन्छ ।

यसो त बंगलादेशका मानिस ट्याक्सी पेशामा बढ्दा छन् । पछिल्लो क्रममा परिवार भएका आफु अनुकुल काम गर्न मन पराउने नेपालीहरुले यो पेशालाई अंगाल्ने गरेका छन् । यसरी भनौं महिनामा मेहेनत गर्न सकेमा पाँच हजार डलर कमाई गर्नु चानचुने कुरा होइन् । पचास हजार डलरको लगानीमा एउटा ग्यास स्टेशन चलाउने मालिकले जस्तै ट्याक्सी चलाएर कमाई गर्ने गरेको पाइन्छ । स्टोरको भाडा तिरेर, काम गर्ने कामदारका लागि ज्याला तिरेर अनि आफ्नो लगानी हेर्ने हो भने पनि ग्यास स्टेशनको मालिकले पाँच हजार डलर बचत गर्दैन् ।

हामीले सोधपुछ गरेका अधिकाशं नेपालीहरुले दिएको प्रतिकृया अनुसार यदी हप्तामा छ दिन १० घण्टाका दरले काम गर्ने हो भने अहिले पनि करिव चार हजार डलर बचत गर्न सक्छन्, यो पेशामा ।

पछिल्ला दिनमा कमाई कम हुँदै गयो ।

कारण हो न्यूयोर्क सिटीमा दुई बर्ष पहिले मात्रै १४ हजार पँहेलो ट्याक्सी चलाउने चालक थिए भने करिव २५ हजारको संख्यामा उबर, लिफ्ट, जुनो जस्ता एप वेश कम्पनी ट्याक्सी थिए ।

तर पछिल्ला दिनमा उवर, लिफ्ट, जुनो, भिया, लक्सो जस्ता एप बेश ट्याक्सी चालउने चालकको संख्या दिन २ गुना रात ४ गुना बढेपछि यो पेशामा लाग्ने नेपाली लगायत सबै मुलुकका चालक हैरानीमा पर्ने गरेका छन् । सोचे भन्दा बढ्दा चालक थप भएपछि अहिले पेशा परिर्वतन गर्ने नेपालीहरुको संख्या पनि कम छैन् ।

पछिल्ला दिनमा कमाई कम हुने गरेका करिव ६ जना पँहेलो ट्याक्सी चालकले आत्महत्या गरेको समाचार प्रकाशित भईसकेका छन् । मासिक बैंकको किस्त तिर्न नसक्नु, दैनिक कमाई कम हुनका कारण आत्महत्या गर्नुपरेको समाचारमा उल्लेख गरिएको थियो ।

उबर, लिफ्ट, जुनो, भिया, लक्सो जस्ता कम्पनीले दैनिक चालक थप गर्न थालेपछि यसको चर्को बिरोध भएका कारण अहिले चालक हितका लागि काम गर्ने बिभिन्न संस्थाले यसको बिरोधलाई चरम उत्कृर्षमा पुराए फलस्वरुप अहिले एप बेश कम्पनीहरुले थप एक बर्षलाई चालक थप्न नपाउने कानुन पारित भएको छ ।

पारित भएको कानुनलाई न्यूयोर्क राज्यका मेयरले हस्ताक्षर गरेर प्रमाणिकरण समेत गरेका छन् । यसले यो पेशामा लाग्ने चालकका लागि खुसीको खबर छ भने नयाँ चालक बन्ने लक्ष्य लिएका या भनौं चालक बन्ने लक्ष्य राखेका नेपाली लगायत अन्य मुलुकका मानिस एक बर्षका चालक बन्न पाउने छैनन् ।

कति नेपाली छन्, ट्याक्सी चलाउने ?

पौडेल जस्तै करिव पाँच हजार नेपालीले न्यूयोर्क सिटीमा ट्याक्सी चलाउने प्रारम्भिक अनुमान छ । सामान्यतय एशियन मुलुकका मानिसले अमेरिकामा आएपछि रेष्टुरेष्ट, होटल, ग्यास स्टेशनमा काम गर्ने गरेको पाइन्छ । यसको मतलब डाक्टर, पाइलट छैनन्, भन्ने होइन् । संख्यात्मक हिसावले अहिले बिशेषत न्यूयोर्क राज्यमा ट्याक्सी चलाउने नेपालीको संख्या दिनानु दिन बढ्दो छ ।

क्लबको भएपछि अध्यक्ष महासचिव भएर भएपनि नेता बनेर काम गर्ने बानी परेका नेपालीहरु यहाँ आएरपनि बिभिन्न संघ सस्थामा काम गर्ने गरेका छन् । एनआरएन लगायतका संघ सस्थामा काम गर्ने नेताहरुको मुख्य पेशा पनि यहाँ यही ट्याक्सी नै हो भन्दा फरक नर्पला ।

तिन बर्षदेखी न्यूयोर्कमा ट्याक्सी चलाउँदै आएका जगबहादुर पुन भन्छन्, यदी उबर नहुँदो होत यो एनआरएन र बिभिन्न संघ सस्थाको के हालत हुँदो हो । अर्को अर्थमा भनौं यहाँ सबै नेताहरु ट्याक्सी चालकनै छन् । पत्रकार, कलाकार देखी सामान्य काम गर्ने बानी परेका नेपालीहरु ट्याक्सी चलाउने पेशामा आवद्ध छन् ।

हप्ताभरी उबर चलायो प्रायःजसो शनिवार आइतवार सार्वजनिक कार्यक्रमहरुमा गएर गफ दियो । यसरी नै चलेका छन्, यहाँका नेताहरु । शनिवार आइतवारका कार्यक्रममा खादा माला लगाउने अधिकाशं नेताहरु दिनभर ट्याक्सी चलाई रहेका भेटिन्छन् ।

उसो त श्रमको सम्मान हुने अमेरिकामा यस्ता कुराहरुले माने राख्दैन् । काम र पेशाका हिसावले जानकारी गराउँदा न्यूयोर्क राज्यमा बस्ने अधिकाशं नेपालीहरु ट्याक्सी चलाउने काम गर्छन् ।

खासमा खर्च कमाई कति हो त ?

करिव २० देखी ५० हजार डलर सम्म खर्च गरेर सवारी खरिद गर्नुपर्ने अनि मासिक पाँच सय देखी हजार डलर सम्म किस्ता, दैनिक २० देखी ४० डलर सम्मको तेल, सरकारले टनेलहरुमा लिने टोल लगायतका खर्च कटाएर महिनाको चार हजार डलर पनि बचत गर्न सक्ने चालकहरुको भनाई छ ।

यदी भाडामा सवारी लिने हो भने सवारीको प्रकृति हरेर हप्तामा चार सय देखी छ सय डलर सम्म भाडा तिर्नुपर्ने हुन्छ । अहिले अधिकाशं नेपालीहरुले आफ्नै सवारीलाई ट्याक्सी बनाएर चलाउने गरेको पाइन्छ । यसरी भनौं अधिकाशं नेपाली ट्याक्सी मालिक छन् ।

अन्य काम गरेर जस्तै ग्यास स्टेशन वा रेष्टुरेष्टमा काम गरेर हप्ताको पाँच सय देखी बढीमा सात सय सम्म कमाई हुन्छ भने यदी ट्याक्सी चलाउने हो भने हप्तामा एक दिन छुट्टी बसेर दिनको कम्तीमा दुई सय डलरका दरले कमाई गर्दा छ दिनको १२ सय डलर कमाई हुन्छ । आफ्नै ट्याक्सी हुनेले तेल, टोलको खर्च कटाएर करिव आठ सय देखी एक हजार डलर सम्म कमाई गर्ने गरेको बताइन्छ । काम नै नगर्ने अल्छीका कुरा छाडेर ।

कसरी बनिन्छ ट्याक्सी चालक

न्यूयोर्क राज्यमा ट्याक्सी चलाउनका लागि यहाँको राज्यले छुट्टै लाइसेन्स निकाल्नुपर्ने नियम बनाएको छ । जसलाई ह्याक लाइसेन्स भन्निछ । यो लाइसेन्स निकाल्नका लागि शुरुमा नियमित डि क्लाशको सवारी लाइसेन्सलाई डिएमभिमा गएर क्लाश ई अथार्त कर्मशियल लाइसेन्स बनाउनुपर्छ करिव ४५ डलर खर्च गरेर ।

त्यसपछि टिएलसी अर्थात ट्याक्सीलाई नियन्त्रण गर्ने कार्यलयमा पुगेर निवेदन दिनुपर्छ करिव २ सय ६० डलर खर्च गरेर । त्यसपछि प्रकृया शुरु हुन्छ ट्याक्सी चालक बन्ने । टिएलसीले दिने निर्देशन अनुसार ३ दिन क्याम्पस पुगेर अध्ययन गर्नुपर्छ २४ घण्टाको कोर्ष, त्यसपछि मध्यपान, पिसाव परिक्षण जस्ता प्रकृया पास गरेपछि टिएलसी लाइसेन्स निस्कन्छ । यस्तो नियम मात्रै न्यूयोर्क राज्यका लागि हो अन्य राज्यमा ट्याक्सी चलाउन एप बेश कम्पनीमा गएर निवेदन दिँदा हुन्छ ।

न्यूयोर्क राज्यमा भने ट्याक्सी चालकले यसरी प्रकृया पुराएर लाइसेन्स निकाल्नुपर्छ भने ग्राहक र चालकका लागि छुट्टै बिमा गर्नुपर्छ । जसको खर्च अलिक बढीनै लाग्छ । यदी आफ्नो सवारी छ भने चालकले कम्तीमा एक हजार डलर गाडीको किस्ता, बिमाको रकम गरेर खर्च गर्नुपर्ने हुन्छ । यदी भाडामा लिने हो भने हामीले माथी पनि भनेका छौं, चार सय देखी माथी हप्ताको भाडा तिर्नुपर्ने हुन्छ ।

हुनत विश्वको राजधानी मानिएको न्यूयोर्क, धेरै आवधि भएको राज्य हो । यहाँ करिव ८४ लाख जनता बसोबास गर्छन् । भने दैनिक जसो विश्व बजारबाट यो राज्यमा घुम्न आउनेको संख्या पनि थुप्रै छ । तर पनि करिव ९० हजारको संख्यामा रहेका उबर चालक र करिव १४ हजारको संख्यामा रहेका पँहेलो ट्याक्सी चालक भएका कारण उनिहरुलाई काम नपुगेको आंकडा सार्वजनिक हुने गरेका छन् । केही हप्ता अगाडि मात्रै जारी भएको कानुन अनुसार एक बर्ष अन्य ट्याक्सी थप्न नपाईने भएकाले उबर, लिफ्ट, जुनो, भिया, लक्सो जस्ता ट्याक्सी कम्पनीले करिव ८० हजार सवारी बुक गरेर राखेको बताइन्छ ।