नेतालाई विदेशमा भात खुवाउने र घुमाउनेको लर्को ..


लोक तथा दोहोरी गायक मिलन लामाले यथार्थपरक धेरै गीतहरु गाउँदै दर्शक स्रोताहरुको मन जितिसकेका छन्। अमेरिका, युरोपलगायत बिकसित मुलुकहरुमा पटक-पटक सांगीतिक यात्रा गरे पनि, मुलुकमा नै फर्केर गीतसंगीतमा निरन्तरता सक्रिय रहँदै आएका कलाकार पनि हुन् गायक लामा । विदेशमा रहेका नेपाली कलाकारहरुको बारेमा टिप्पणी गर्न नचाहे पनि आँफू स्वदेशमा नै बसेर गीत संगीतलाई निरन्तरता दिनेमा भने उनी दृढ छन्।

अमेरिका ५ पटकसम्मको सांगीतिक यात्रा पूरा गरिसकेका गायक लामा त्यतीनै पटक युरोप टुरमा पनि आए। तर, यसपटकको युरोपयात्रा भने त्यती संगीतमय देखिदैन। एकातिर कलाकारहरुको विदेश आउँने भीड । अर्कोतर्फ कार्यक्रमहरुको घट्दो स्तरीयता।

युरोपका केही मुलकहरु घुमिसकेपछि उनले सामाजिक संजालमार्फत एउटा नयाँ गीत ल्याउने घोषणा गरे। ‘गयो जोवन युरोपको शहरमा, धेरै पैसा कमाउने रहरमा …।’  कहिलेकाँही त सम्झी ल्याउँदा, साह्रै लाग्छ दिक्क, कमाएको पैसा जति, बील तिर्नलाई ठिक्क …।

उनको गीतले युरोप रहेका धेरै नेपालीहरुको जीवनसँग मेल खाएको छ। अर्को तर्फ गायक लामाले यसपटकको यात्रामा  लाखौ रकम खर्च गरेर आएका युवाहरुको ब्यथालाई पनि नजिकबाट बुझ्न पाएको सुनाए ।

प्रस्तुत छ पत्रकार बसन्त रानाभाटले गायक लामासँग गरेको कुराकानी:-

मिलन जी यहाँलाई युरोपमा स्वागत छ ! युरोप कति पटकको यात्रा हो ?

युरोपको यात्रा धेरै नै भयो। युकेलाई पनि जोड्ने हो भने अझ धेरै नै भयो। युके ५-६ पटक,यता सेन्जेन युरोपेली मुलुकहरुमा पाँचौ यात्रा हो।

एकातिर कलाकारहरुको विदेश आउँने भिड। अर्कोतर्फ पहिले-पहिले जस्ता स्तरीय कार्यक्रमहरु पनि हुनै छाडे नि !

सही कुरा गर्नु भो। यो मलाई पनि महशुस भएको र अहिले पनि अनुभूति गरिरहेको छु। पहिला-पहिला एक त सबैका कागज थिएनन्। भर्खर भर्खर आएका र परिबार नल्याएका एक्ला मान्छे।कलाकार आएपछि नेपालको झल्को मेटाउनका पनि कार्यक्रम भनेपछि सवै हाम फालेर आउथे। तर अहिले सबैले कागज बनाए। घर किने। परिबार सहित रहदा बोझहरु पनि थपिए। कार्यक्रममा परिबार सहित आउँदा कम्तिमा ५० युरो भन्दा बढी खर्च गर्नु पर्ने हुन्छ।

अर्को कुरा राजनीतिक बिकास भयो। पार्टीगतसोच,जातीय तथा क्षेत्रीय संगठनहरुले फरक फरक कार्यक्रम। हाम्रै कार्यक्रम हुँदै छ अहिले किन जानु पर्यो त नि भन्ने सोचको बिकास भयो। चितवनले चितवनको,कास्कीले कास्कीको,गुरुङले गुरुङ,नेवारले नेवार,काँग्रेसले काँग्रेस,कम्युनिष्टले कम्युनिष्ट आ-आफ्नै कार्यक्रम गर्न थाले। सकेसम्म छेक्ने,त्यो पनि नभए अरुको कार्यक्रममा नगई दिने प्रवृत्ति बढ्दै गएको हो कि जस्तो भान भएको छ। यसले गर्दा स्वभाबिक रुपमा कार्यक्रममा स्तरीयता घट्दै गएको छ।

यहाँले  नेपाली समुदायलाई नजिकबाट नियाल्दा कस्तो पाउनु हुन्छ ? प्रबृत्ति नेपाल कै छ कि ? बसाई बिकसित देशमा छ भन्ने मात्रै हो ?

तपाइँले बहुत जटिल कुरा गर्नु भो। मैले हाम्रो सोचमा खासै परिबर्तन आएको देखेको छैन। देश छोडेर यति टाढा आएपछि नेतालाई  बेस्सरी गाली गर्छौ। यीनै नेताहरुको कारणले विदेशिनु पर्यो।देश बिगारे,काम पाईएन,बस्ने बाताबरण मिलेन भनेर भन्छौ। तर आँफैले गालि गरिरहेकै ति नेताहरु युरोप अमेरिकामा आउँदै छन् भन्ने थाहा भयो भने एयरपोर्टमा खादा लगाईदिनेको ठुलो लाम लाग्छ।

अझ लुछाचुडी हुन्छ। भात खुवाउनेको लर्को,घुमाउनेको लर्को। मैले यी कुराहरु अहिलेसम्म बुझ्न सकेको छैन। माया गर्नुहुँदैन मैले भनेको हैन तर तपाईले गालि गरिरहेकै नेताहरुलाई कम्तीमा सचेत त गराउनु पर्यो नि। अन्तरक्रिया गर्नुहोस् आक्रोश पोख्नुहोस्।

नेपालमा बस्ने हामीहरुले त केहि देखेका छैनौ नि तर तपाईहरुले बिकसित देशहरुको सिष्टम देख्नु भएको छ,बुझ्नु भएको छ। नेतालाई सिष्टमको कुरा सुनाउनुहोस्, उहाँहरुको दिमाखमा घुसाईदिनुहोस्। तर यो हैन कि, उहाँलाई सुत्न अप्ठारो भएको छ कि ,कसको गाडी राम्रो छ,कुन गाडीमा राखेर घुमाउने ?  ३-४ दिन अघि नै सुबिधायुक्त गाडी बुक गरेर घुमाउने पो हो कि।

अर्को दुख लाग्दो कुरा। मैले कम्लेन गरेको हैन। नराम्रो नभन्नु होला। प्लिज मलाई नराम्रो बनाएर नलेख्नु होला।  जहिले पनि झगडा नभईदिए हुन्थ्यो भन्ने चाहान्छु। हुन न अहिले धेरै कम हुँदै गएको छ।

कर्म हारेर दुख परेर हामी विदेश आएका छौ। उज्ज्वल भविष्य र सपना खोज्नका लागि। तर नेपालीनेपाली बिच किन झगडा गर्ने ? किन जुध्ने ? यिनै कारणहरुले गर्दा दुख लाग्छ। पोहोर साल पाईरहेको हल यसपटक दिएनन् भन्नुहुन्छ सुन्दा नराम्रो लाग्छ। के कारणले दिएनन् ? झगडा भयो रे हल निकै फोहोर भएकाले रे।

भर्खर बिश्वकप रसियामा सक्कियो। बिश्वकप त फ्रान्सले जित्यो तर मन भने जापानले नै। हेर्नुहोस् ति जापानिज दर्शकहरुले बिश्वभरको मन जिते। उनिहरुलाई कर थिएन स्टेडियमको फोहोर टिप्न, पप्लाष्टिक टिप्न तर उनीहरुले आफ्नो सभ्यता देखाए। तर हामी त हल सफा गर्नु पर्छ भनेर सम्झौता गर्छौ ,कागाज गरेका हुन्छौ। यति जान्दाजान्दै पनि फोहोर गरिदिने,झगडा गरिदिने,सामान फुटाईदिने। हामी अब कहिले सुध्रने मेरो प्रश्न तपाईलाई।

धेरै नेपालीहरुले काम गर्ने ठाउँहरुमा पुग्नु भएको छ ।आफ्नै आँखाले देख्नुभएको पनि छ। नेपालीहरु विदेशमा गरेको दुःख देख्दा कस्तो लाग्छ?

मन रुन्छ नि। आमाले दिएको मीठो खाना अनि आमाको काख जस्तो न्यानो र प्यारो कहाँ हुन्छ र ? कसलाई रहर छ यहाँ आएर दुःख गर्न ? तर बाध्यता बनेको छ। नेपालको विकास जहाँको त्यही नै छ । कहिल्यै माथि आएन । लाखौ युवाहरु विदेशिएका छन् । दुःख मान्नु बाहेक अरु केही गर्न सकिएको छैन ।

हुन त मैले कुनै पार्टीको टिकट लिएको छैन। कसैप्रति आग्रह वा पूर्वाग्रह केही पनि छैन। तर, हामी सबै मिल्नु पर्छ। अहिले देशमा वाम एकता भएको छ। ठीक छ । सरकारमा वाम छ । तर, देश विकासको लागि आम एकता हुनुपर्छ। कांग्रेस,कम्युनिस्ट, सबै दल, सबै जाति, भेग, क्षेत्रका मान्छेहरु एक हुनुपर्छ। नेपालको वास्तबिक बिकासको लागि आम एकता हुनुपर्छ। देश बिकास भए मात्र नै हो,युवाहरु विदेशिनबाट रोक्ने।

विदेशमा कामलाई यहाँ सानोठूलो मानिदैन तर नेपालमा यसलाई किन संकुचित रुपमा हेरिन्छ ? 

तपाईलाई के लाग्छ ? म प्रतिप्रश्न गर्न चाहान्छु। युरोप बस्ने नेपालीहरुले यति कुरा बुझेका छन् त ? कामलाई सम्मान गरेका छन् ?

मलाई चाहिँ के लाग्छ भने युरोप बसेपनि अमेरिका बसे पनि। भन्न त मुखले भन्छन्, कामलाई सम्मान गर्नुपर्छ। त्यसो भए फेसबुकमा किन समुन्द्रको मात्रै फोटो हाल्छन्। आँफूले काम गरेको फोटो किन हाल्दैनन् ? यहाँ आएपनि सोच त उही पुरानै छ नि। भलै यहाँ चिल्ला गाडी चढेका होलान्।

यहाँ सिष्टममा हिँडेका होलान्। अझै पनि नेपाली मानसिकता ज्युदै छ । कामको सम्मान छ युरोपमा भन्छन् तर कसैले आँफूले गरेको फोटो भिडियो फेसबुक युटुभमा राख्दैनन् किन त ? मुखले मात्र भनेर भएन। हाल्दिनुहोस न। नेपालमा बस्नेलाई पनि थाहा होस् त्यहाँ गएर पनि काम गर्ने त्यस्तै रहेछ, बरु नेपालमा नै बसेर केही गर्छु भन्ने सोच आवस्।  मेरो आव्हान छ, जतिसक्दो यथार्थता सेयर गरिदिनुहोस्।

युरोपका नेपालीहरुको जीवनचर्या झल्कने गीत ल्याउने जानकारी सामाजिक संजालमार्फत दिनुभएको थियो नि ? केही शब्दहरु भन्न मिल्छ ?

मिल्छ। यो युरोप प्रतिनिधि पात्र मात्रै हो। लोक गीत गाउने मान्छे त्यसमा पनि शब्द पनि आँफै लेख्ने भएकाले रचना मात्र गरेको छु। देश छोडेर बाहिर बस्ने सम्पूर्ण नेपालीहरुको भावाना गीतमा समेट्ने कोशिस गरेको छु।

गयो जोवन युरोपको शहरमा

धेरै पैसा कमाउने रहरमा ।

कहिले काही त सम्झी ल्याउँदा, साह्रै लाग्छ दिक्क

कमाएको पैसा जति, बप्ल तिर्नलाई ठिक्क।

ब्यस्त जीवन युरोपमा, सबले काम गर्ने

आफ्नी बुढी भेट्न पनि, विकइण्ड कुर्नु पर्ने।

ब्यस्त जीवन युरोपमा, सबले काम गर्ने, आफ्नी बुढी भेट्न पनि विकइण्ड कुर्नु पर्ने । यो टुक्काले त विदेशमा रहेका धेरै जोडीहरुलाई रुवाउँछ कि !

खै अब के- कसो हुन्छ । हामीले गीत लेख्दा धेरैले भोगेको कुराहरु लेख्दा नै राम्रै हुन्छ। पहिले पनि त्यस्तै गीत लेखेर आएको मान्छे हुँ।पहिलो चोटी कर्णालीमा बाटो पुग्दा मैले गीत बनाएको थिए।

आँखा देख्ने भए पनि, साँञ्चै भाथ्यौ अन्धा

हामीलाई त मोटर ठूलो सिंहदरबार भन्दा ।

झल्को लाली ओठको, बाटो खुल्यो मोटर चल्यो,जुम्ला कालीकोटको।

यहाँ यस्तो अबस्था हुँदाहुँदै पनि लाखौ रकम खर्च गरेर बिचौलियालाई मोटो रकम बुझाएर त्यसमाथि ज्यानको बाजी लगाएर युरोप सपना देख्ने युवाहरु उत्तिकै छन् । के भन्नुहुन्छ ?

यो भ्रम हो। मैले बुझे अनुसार आउने बित्तिकै काम पाउनै मुश्किल छ। किनकी तपाईसँग बैधानिक रुपमा बस्ने र काम पाउने पेपर नै हुँदैन। बिचौलियालाई पैसा दिएर आउनुहुन्छ। आएको लाखौ ऋण कहिले तिर्नु हुन्छ ?

अर्कोतर्फ सरकार पनि गम्भिर बन्नुपर्छ। अबैधानिक काम गर्नेलाई कडा कारबाही गर्नुपर्छ। जनचेतना पनि जगाउनु पनि पर्छ। विदेशमा रहेका दाजुभाइहरुले पनि यथार्थता बारे जानकारी दिनुपर्छ। विदेश सपना देख्ने युवाहरुले पनि पुग्ने बित्तिकै लाखौ कमाइन्छ,कार्ड बनीहाल्छ भन्ने भ्रमलाई हटाउनुपर्छ।

तपाई इटाली पनि पुग्नु भयो, लिबियादेखि सामुन्द्रिक बाटो हुँदै डुंगा चढेर आएका नेपालीहरुको कथा पनि सुन्नुभो । घटनाहरु सुन्दा कस्तो लाग्छ ?

अबश्य दुःख लाग्छ। यहाँले भनेजस्तै युवाहरुका डरलाग्दा जीवनकथा र भोगाईहरु रहेछन्। इटालीमा छदा मधेश तिरका एक जना यादव भाइलाई भेटे। उनीपनि लिबियादेखि सामुन्द्रिक बाटो हुँदै आएका रहेछन्। रेस्क्यु डुङ्गाहरुको सहायताले बाँच्न सफल भएको कथा सुनाए। धन्य बाँच्चियो दाइ, त्यो क्षण सम्झना अहिले पनि शरिर काप्छ भन्दै थिए।

बाटोमा नै कतिमय मरेका पनि छन्। यस्तै डरलाग्दा कथाहरु अमेरिका छिर्नेहरुका पनि छन्। अबैधानिक यात्रा भएकाले, मरे बाँचेको केही रेकर्ड पनि छैन। कतिपय नेपालीहरु बिभिन्न देशहरुमा जेल जीवन बिताइरहेका सुनिन्छन्।

यो बारे कुनै गीतमार्फत सन्देश दिन पाएहुन्थ्यो भन्ने लागेको छ ?

छ , एकदमै छ। नेपाली चेलीहरु भारतका बिभिन्न शहरहरु हुँदै बिभिन्न देशहरुमा अलपत्र परेका छन्। बिभिन्न देशहरुबाट उद्दार भएका खबरहरु हामीले सुनेका छौं। यो  बारेमा पनि हामीले जनचेतना मुलक सांगीतिक यात्रा गर्दैछौ। युवाहरुको बारेमा पनि मनमा आएको छ। तपाईले पनि भन्नुभयो, अहिलेको युरोप टुर बिशेष गरी यस्तै घटनाक्रम, सुख दुःख बिसाउँदै बितिरहेको छ। धेरै जानकारी प्राप्त गरिरहेको छु।

धेरै कलाकारहरु त विदेशिएका छन्,यसलाई कुन रुपमा लिनु हुन्छ ? अनि तपाईको सोच के छ ?

विदेश त म पनि आइराखेको छु। तर, मैले कतै कागज एप्लाई गरेको छैन। अमेरिका ५ पटक पुगे। तर, मलाई विदेशमा नै बस्ने सोच कहिल्यै आएन। को-को जानु भयो ?को बस्नु भो ? त्यो उहाँहरुको व्यक्तिगत जिन्दगी हो। मैले यो बारे टिप्पणी गर्न उपयुक्त्त हुँदैन। मेरो बारेमा बोल्न सक्छु,अरुको बारेमा म बोल्दिन।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

मेरो विचार पनि राख्ने मौका दिनुभयो, यसका लागि धन्यबाद। अन्त्यमा भन्न चाहन्छु, तपाइँहरू स्वदेशमा भए पनि बिदेशमा रहे पनि सधैँ आफ्नो कामसँग खुशी रहनु होला ।