इटालीमा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या


बार्सिलोना । इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।

गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

दूतावासका द्वीतीय सचिव भुवन पौडेलका अनुसार घटनाबारे परिवारलाई समेत जानकारी भइसकेको छ । पौडेलले भने-‘बेल्जियममा रहँदै आएका मृतकका आफन्त राजु थापाको रोहवरमा इटालीमै शतगतिका लागि परिवारले अनुमति दिएको छ ।’

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासले जनाएको छ ।

गत नोभेम्बरमा पनि म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ वर्षीय धनमान पूर्जाले इटालीमा ज्यान गुमाएका थिए । अवैधानिक रुपमा लिबियादेखि सामुन्द्रिक डुंगा चढेर इटाली जाने क्रममा पूर्जाको निधन भएको थियो ।