चित्र कोर्दै विद्यार्थी (फोटो फिचर)


राजाराम पौडेल,पोखरा- शनिबार बिहान ८ बजे पोखराको न्युरोडमा रहेको हिमालयन रिडर्स कर्नरमा २१ जना विद्यार्थी जम्मा भए । पोखराका विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको यो भेट उनीहरुको चित्रकला प्रतिको मोहका कारण भएको थियो । चित्रकलाको माध्यमबाट आफ्नो प्रतिभा देखाउने अभिलाषाको कारण विदाको दिनमा समेत उनीहरु झोलामा कलरबक्स राखेर उत्साहित बन्दै तहाँ पुगे । कोही स्कुल ड्रेसमा थिए त कोही आउट ड्रेसमा । उनीहरु सबैको लक्ष्य थियो । उत्कृष्ट बन्दै पुरस्कार समेत जित्ने ।


विशम कुँवर, आयना इटवाल, नमिता गुरुङ, अप्सरा कुमाल, दुर्लभ तुलाचन, रक्षा गुरुङ, संगम पौडेल, कौशल्या गुरुङ, स्वेता वानिया, सुभम मगर, सुदिप परियार, विनित बाटाजु, एमडि नाजिम मन्सुर, सोनु थापा, दिप्ति गुरुङ, रेबिका सुवेदी, योकेश सुनार, मोहनी गुरुङ, ऐश्वर्य गुरुङ, सुहाना राना र समिर तिवारीले दुईघण्टाको समयसम्म आफ्नो क्षमताले भ्याएसम्मका चित्रहरु कोरे । उनीहरुले आफुले कोरेको चित्रलाई उत्कृष्ट बनाउन निकै मेहनत गरे ।


यसरी कोरिएका चित्रलाई प्राज्ञ रमेश श्रेष्ठ, कलाकार मिलन शेरचन र झपेन्द्र गुरुङले ओल्टाइ पल्टाई हेरे । निर्णायक संयोजक थिए डिबि गुरुङ । अनि छानियो सबैभन्दा उत्कृष्ट चित्र । जुन चित्र कोरेकी थिइन् गण्डकी बोडिङ स्कुल कक्षा १० मा अध्ययनरत रेबिका थापाले । रेबिका अन्य प्रतिष्पर्धी साथी भन्दा अब्बल बन्दै प्रथम बनिन् ।


पोखरा लामाचौरकी रेबिकाले १५ दिनको चित्रकला कक्षा लिएर आफुमा निखारता प्रदान गरेको बताइन् । उनलाई चित्र कोर्नमा मामू साथ महत्वपुर्ण थियो । मामुले चित्रकोर्न गरेको उत्पेरणाका कारण अगाडी बढ्न सहज बनेको उनले बताइन् । फुर्सदको समयमा चित्र कोर्ने गरेको बताउने उनको भविष्यको लक्ष्य आर्कीटेक इञ्जिनियर बन्ने रहेको छ । जित्छु भन्ने अपेक्षा नहुँदा नहुँदै पनि प्रतियोगीतामा प्रथम बन्न सफल भएकोमा खुशी लागेको प्रतिक्रिया उनले दिइन् ।


पोखराको स्टार्स स्टुडियो प्रालि.ले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विद्यालयस्तरिय प्रतियोगीतामा सहभागी बनेका मध्ये सिर्जना बोडिङका संगम पौडेल द्धितिय, बाल प्रभात माविका शुभम मगर तृतिय र न्यु मिलिनियमकी नमिता गुरुङ तथा कास्की मोर्डनाइज्ड एकेडेमीका योगेश सुनार सान्त्वना बने । पुरस्कृत बन्न सफल उनीहरुले नगद पुरस्कार समेत हात पारे । पुरस्कृत तथा सहभागी सबै विद्यार्थी आफ्नो प्रतिभा देखाउन पाउँदा खुशी देखिए । हरेक विद्यार्थीले कोरेका चित्रले केहि न केहि सन्देश बोकेका थिए । स्टार्स स्टुडियोले नृत्य, चित्रकला, साहित्यबाट नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्नसकिन्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरेको स्टुडियोका सञ्चालक जसु गुरुङले बताइन् । विद्यार्थीले कोरेका चित्रलाई पोखरा सभागृह हलमा आइतबार प्रर्दशनमा समेत राखिएको थियो ।


बोर्षिकोत्सव अन्र्तगत आयोजित कविता प्रतियोगितामा सँस्कृति शीर्षकको कविता प्रस्तुत गरेका कास्की गोर्जेका श्रीराम अधिकारी प्रथम, रुपन्देहीका बन्धुदेश द्धितिय, जोना मगर तृतिय समिक्षा ठकुरी र सञ्जना सुवेदी सान्त्वना बने ।


वार्षिकोत्सव कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी तमुलाई तिलमाया गुरुङ स्मृति कला सम्मान पुरस्कारबाट पुरस्कृत गरियो । पोखरा सभागृहमा आयोजित स्टार्स उत्सव २०७५ अन्र्तगतसामुहिक नृत्य प्रतियोगितामा कौडा प्रस्तुत गरेको पोखरा १३ स्थित चिसापानी टोल विकास संस्था प्रथम भयो । बालाबोट गीतमा नृत्य प्रस्तुत गरेको पैयुँखोला तमु समाज द्धितिय, सिङ्गदी गाँउ चिनारी गीतमा नृत्य प्रस्तुत गरेको क्रबा आजी सिङ तमु समाज तृतिय तथा सोरठी प्रस्तुत गरेको दुधपोखरी तमु समाज र पुरानो गीत लाइभ गायनमा नृत्य प्रस्तुत गरेको खिलाङ गुरुङ समाज सान्त्वना भए । नृत्य प्रतियोगीतामा ११ समुहको सहभागीता रहेको थियो ।