कालीगण्डकीले वगाएको विद्यालयलाई जस्तापाता सहयोग


पोखरा । काली गण्डकीले वगाएको म्याग्दी जिल्लाको साविक नारच्याङ गाविस वडा नं. ९ हालको अन्नपुर्ण गाउँपालिका वडा नं. ४, कोप्चेपानीमा अवस्थित धवलागिरी आधारभुत विद्यालयलाई १२ वण्डल रंगिन जस्तापाता सहयोग प्राप्त भएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुइ ग्वाङ मोरल स्टडी सेन्टर सिंगापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाता र ८ फुटे ६९ पाता करिब १३ वण्डल रंगिन जस्तापाता सहयोग प्राप्त भएको हो ।

संस्थाका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले मंगलबार विद्यालयलाई उक्त जस्तापाता विद्यालयका अध्यक्ष दुर्गाबहादुर खड्का र प्रधानाध्यापक शान्ती राम्जलीलाई सम्युक्त रुपमा हस्तान्तरण गरेका हुन्।

जस्तापाता हस्तान्तरण गर्दै यामबहादुर गुरुङले आफ्नो संस्थाले प्रदान गरेको सहयोगको सदुपयोग गर्न र विद्यालयको भवन यथासक्य छिटो निर्माण गर्न अनुरोध गरेका थिए ।

गत साउन ३० गते राती ३ वजेको समयमा कालीगण्डकीको तिरमा रहेको विद्यालयलाई पुर्ण रुपमा वगाएकोले विद्यालय पुनः निर्माणको लागि सहयोग माग्दै हिड्ने क्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा विभागका उपसचिव दामोदर सुवेदीसंग भेट भएको र उनकै समन्वयमा फाउण्डेशनले एकै वचनमा सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक शान्ती राम्जालीले वताईन् ।

उनले हालसम्म गाउँपालिकाबाट ५० हजार, त्रिपाल र म्याट्रेस, लर्न नेपालले वाल मैत्री शिक्षण सामाग्री सहयोग गरेको वताइन् ।

गाउँमा रहेको एकमात्र विद्यालय नदिले वगाए पछि विभिन्न व्यक्ति तथा संघसंस्थासंग हात थाप्नुको विकल्प नभएको विद्यालयका अध्यक्ष दुर्गाबहादुर खड्काले वताउँदै भालेवास, उपल्लो चौरका समाजसेवी जगतबहादुर वोहरा क्षेत्रीले आफ्नो २ आना २ दाम २ पैसा जग्गा विद्यालयलाई प्रदान गरिसकेको अवस्था रहेकोले भावी योजना वनाएर अगाडि वढ्ने सोच रहेको वताए ।

प्रशिद्ध पर्यटकिय क्षेत्र रुप्से झरनादेखि एक घण्टाको पैदल यात्रा पछि पुग्न सकिने सो विद्यालयमा शिशु कक्षा देखि कक्षा ३ सम्म पढाई हुन्छ ।

विद्यालयमा १२ जना विद्यार्थी रहेका छन् । दरबन्दी अस्थायी शिक्षक १ जना, राहत कोटा शिक्षक १ जना, वालविकास तर्फ १ जना र परिचर १ जना कार्यरत रहेका छन् । उक्त विद्यालयको अरु कुनै विकल्पहरु नभएको कारण विद्यालय निर्माण गर्नुपर्ने भएकोले सहयोग गर्न इच्छुक संघसंस्थाहरुसंग स्थानियले पनि अनुरोध गरेका छन् ।